मोदीद्वारा जनतासामु माफी मागिन्

171

एजेन्सी-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउनका कारण जनतालाई कष्ट पुगेको भन्दै माफी मागेका छन्। ‘संसार अहिले कोरोना भाइरसका कारण आक्रान्त छ’, एक रेडियो कार्यक्रममार्फत मोदीले भने, ‘हामीसँग लकडाउनको विकल्प थिएन। कष्ट पुगेको भए पनि मलाई जनताले माफ गर्नेछन् भन्ने विश्वास लिएको छु।’ जीवनमरणको स्थिति सिर्जना भएकाले कठोर निर्णय लिनुपरेको उनले बताए। मोदीले कोरोनाको कहरलाई नियन्त्रणबाहिर जानुअगावै रोक्न खोजिएको पनि जनाए ।

‘यो सबैका लागि चुनौतीको विषय हो’, उनले भने, ‘लकडाउनको नियम नमान्नेहरू जीवनसँग खेलवाड गर्दैछन्।’ मोदीले अग्रमोर्चामा रही डटिरहेका स्वास्थ्यकर्मीहरूबाट सबैले प्रेरणा लिनुपर्ने पनि जनाए । रेडियो कार्यक्रमका क्रममा उनले कोभिड–१९ को संक्रमणबाट निको भएका हाइदराबादका एक युवकसँग टेलिफोन कुराकानी पनि गरे। केही चिकित्सकलाई टेलिफोन गरेर हौसला दिए। खानेपानी, खाद्यान्न, औषधीलगायतका सामग्री प्रवाह गर्दै आएका व्यवसायीलाई धन्यवाद दिए। ‘हामीले सामाजिक अन्तर्क्रिया रोक्नुपर्दैन। तर सामाजिक दूरी कायम राख्नैपर्छ’, उनले भने, ‘बाहिर ननिस्कनुस्। बरु यो अवधिमा स्वयंलाई नियाल्ने कोशिस गर्नुहोस्।’

‘जसरी यो महामारी अभूतपूर्व देखियो। त्यसरी नै हामीले यसलाई रोक्ने क्रममा लिएका निर्णयहरू पनि अभूतपूर्व छन्’, मोदीले भने, ‘यो मानवीयता प्रदर्शन गर्ने समय हो। गरिबलाई खुवाउने विषयमा सोचौं। किनकि हाम्रो संस्कारले हामीलाई त्यसरी नै प्रशिक्षित गरेको छ। म आशा गर्छु। अर्को कार्यक्रममार्फत यहाँहरूलाई भेट्न आउने समयसम्ममा हामीले यो चुनौतीबाट पार पाइसकेका हुनेछौं।’ मोदी स्वयंले सञ्चालन गर्ने रेडियो कार्यक्रम ‘मन की बात’ महिनाको एकपटक अल इन्डिया रेडियोमार्फत प्रशारण हुने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here