एजेन्सी – बोका जुनियर्सका खेलुकद निर्देशक जर्ज बेर्मुडेजले पेरिस सेन्ट जर्मन (पिएसजी) का स्टार इडिन्सन काभानीलाई चाँडै क्लबमा भित्र्याउने आशा व्यक्त गरेका छन्। पिएसजीमा काभानीको सम्झौता जुनमा सकिँदैछ। जनवरीमा एट्लेटिको मड्रिड सरुवा हुने प्रयास असफल भएपछि उरुग्वेका अन्तर्राष्ट्रिय फरवार्ड दक्षिण अमेरिका फर्किने चर्चा अहिले सरुवा बजारमा व्याप्त छ।
पिएसजीको इतिहासकै सर्वकालीन उच्च गोलकर्ता ३३ वर्षे काभानीलाई भित्र्याउन मेजर लिग सकरको नयाँ फ्रेन्चाइज टोली इन्टर मियामीले पनि प्रयास गरिरहेको बताइएको छ। तर बेर्मुडेजले हुवा रोमन रिक्वेल्मेजस्ता महान् हस्ती हाल उपाध्यक्ष रहेको बोका जुनियर्स पिएसजीका फरवार्डलाई ब्युनस आयर्स भित्र्याउन सफल हुने विश्वास व्यक्त गरेका छन्।
‘रिक्वेल्मेजस्ता महान हस्ती नेतृत्वमा हुनु, उरुग्वेका पूर्व अन्तर्राष्ट्रिय महान् फरवार्ड डिएगो फोर्लानसँग उनको सम्बन्ध र काभानीको क्षमताजस्ता कुरा हेर्दा यो सरुवा चाँडै हुने आशा गर्न सकिन्छ,’ बेर्मुडेजले भने, ‘उनी हाम्रा लागि बलियो हतियार हुनेछन्। उनी पनि बोका जुनियर्स आउन चाहन्छन्। यदि साँच्चै उनलाई भित्र्याउन सकियो भने धेरै कुरा फेरिनेछ।’