काठमाडौं – सरकारले लकडाउन अझै लम्ब्याउने निश्चित भएको छ । भोलिसम्ममा सरकारले लम्ब्याउने घोषणा गर्ने भएको छ । ३ वैशाखमा दोस्रो चरणको लकडाउन अन्त हुनुअघि नै घोषणा हुने बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै लम्ब्याउने संकेत गरी सीमामा अझै कडाई गरिने स्पष्ट पारिसकेका छन् । उनले शनिबार मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा सीमामा कडाई गर्ने र लकडाउन खुकुलो बनाउने कुनै सम्भावना नभएको प्रष्ट पारिसकेका छन् ।
यसैगरी, वीरगञ्जमा लकडाउन अझ कडाई गरिने भएको छ । मस्जिदमा रहेका तीनजना भारतीय नागरिकमा कोरोना भाइरसको पुष्टि भएपछि वीरगञ्ज क्षेत्रमा कडाई गरिएको छ । प्रदेश २ को वीरगञ्जलगायत मुख्य इलाकामा कफर्यु लगाउने सम्मको तयारी भएको बुझिएको छ । राजपा नेता राजेन्द्र महतोले वीरगञ्जमा कफर्यु लगाउनुपर्ने बताइसकेका छन् ।
लकडाउन लम्ब्याउने र कडाई गर्नुपर्नेमा मुख्यमन्त्रीहरुले जोड दिइसकेका छन् । सरकारले कम्तिमा अझै दुई हप्ता लकडाउन लम्ब्याउने तयारी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । संक्रमित बढिरहेकाले पनि लकडाउन अनिवार्य रहेको भन्दै प्रधानन्त्री केपी शर्मा ओलीले कडा कदम चाल्न निर्देशन दिइसकेको बुझिएको छ ।

















