– निमकान्त पाण्डे
बिश्वलाई नै आक्रान्त बनाइरहेको कोभिड–१९, कोरोना भाइरसको संक्रमणले नेपाली जनमानसमा नेपाल भित्र मानवीय क्षति नपु¥याएको भनेर हमी मख्ख परिरहकै अवस्थामा नेपालीहरुको मन दुखाउने गरी बिदेशतिरबाट समाचारहरु आउन थालेका छन् । बैदेशिक रोजगारीका लागि बिदेशतिर जान बाध्य भएका नेपालीहरु कोरोना भाइरसको संक्रमणका कारण धमाधम मृत्युको मुखमा परिरहेका समाचारहरु आउन थालेका छन् ।
कामका लागि बिदेशमा पुगेका नेपालीहरुको संख्या लगभग ६४ लाखको हाराहारीमा पुगेको आंकलन गरिएको छ । यति ठूलो संख्यामा बिदेशमा रहेका नेपालीहरुका परिवारजनहरु नेपालमा आतंकित र भयभित हुने खालका समाचारहरु आउने क्रम सुरु भए पछि नेपाली समाजका लागि नेपाल सरकारले लागू गरेको लक डाउनको आदेशको कुनै अर्थ नरहने टिप्पणी पनि हुन थालेको छ । बिदेशिएका नेपालीहरुलाई समयमै नेपालमा ल्याउन प्रयास गर्न सकिएको भए आज यस्तो खालको आतंकपूर्ण अवस्था आउने थिएन भनेर जनगुनासो सुन्न थालिएको छ ।
अमेरिकामा मात्र ५–६ सय भन्दा धेरै संख्यामा नेपालीहरु कोरोना संक्रमित भएका र ५ जनाको मृत्युसमेत भैसकेको समाचार आएको छ भने बेलायतमा पनि कोरोना संक्रमणकै कारणबाट २ जना नेपालीको मृत्यु भएको र ठूलो संख्यामा नेपालीहरु संक्रमित भएका खबर पनि आएका छन् । कोरोना भाइरसबाट बढि संक्रमित देशहरुमा रहेका धेरै नेपालीहरुको अवस्था जानकारीमा नआएको पनि हुन सक्दछ । धेरैजसो देशहरुमा काम गरिरहेका कम्पनीहरु बन्द भएर नेपालीहरु बेरोजगगार भैरहेका र भोक भोकै सडकमा बस्न बाध्य भैरहेका खबर पनि आइरहेका छन् ।
सम्बन्धित देशहरुमा रहेका नेपाली राजदूताबासहरुले समेत कुनै संयोजनकारी भूमिका निर्वाह गर्न नसकेका गुनाशाहरु पनि सुनिएका छन् । यस्तो अवस्थाले देशको कूल जनसंख्या ३ करोड मध्ये ६४ लाख जनसंख्या बैदेशिक रोजगारीमा रहेको तथ्यांकका आधारमा देशको कूल जनसंख्याको लगभग २२ प्रतिशत जनता बिदेशमा कार्यरत रहेको स्पस्ट हुन्छ । यति ठूलो संख्यामा बिदेशिएकाहरुमाथि आश्रित नेपालको जनसंख्या देशभित्र कति होला ? सहजै अनुमान गर्न सकिन्छ । बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्सबाटै धानिएको हाम्रो देशको अर्थतन्त्रको सक्कली स्वरुप यसैबाट स्पस्ट हुन्छ ।
देशभित्र कोरोना भाइरसको संक्रमणबाट हामी सुरक्षित रहेका भए पनि हाम्रा सन्तान बिदेशी भूमिमा ठूलो संख्यामा संक्रमित भैरहेका र धेरैले मृत्युवरण गरिरहेका खबरहरु हामीले सुनेर पीडाको अनुभूति गर्ने बाहेक हामीसंग अर्को कुनै बिकल्प छैन । बिदेशमा रहेका सदस्यहरुसंग सम्बन्धित परिवारका सदस्यहरुका लागि नेपाल सरकारबाट जारी भएको लक डाउनको आदेश कति पीडादायी भैरहेको होला भन्ने कुरा हामी अनुमान गर्न सक्छौं । अझ उच्च शिक्षा हासिल गर्न बिदेशिएका युवाहरुको दैनिकी कसरी चलिरहेको होला र उनीहरुका परविारजनहरुको अवस्था कस्तो भैरहेको होला ? सहजै बुझ्न सकिने कुरा हो ।
हाम्रो देशभित्र कोरोनाको संक्रमण भएको छैन भनेर निश्चिन्त हुने अवस्थामा हामी छैनौ । हामी नेपालीहरु बिदेशी भूमिमा मरिरहेका छौं । तर कति संख्यामा हामी मरिरहेका छौं ? कसैले पनि यथार्थ तथ्यांक प्रस्तुत गर्न सक्ने अवस्था छैन । हामी कति संख्यामा मृत्युको नजिक पुगिरहेका छौं ? यस्तो तथ्यांक कोरोना भाइरसको संक्रमणले संसारलाई तहस नहस बनाएर संक्रमण रोकिए पछि मात्र जानकारी हुन सक्ने झिनो आशा गर्न सकिन्छ । त्यसैले पनि अब देशभित्रै रोजगारीको व्यवस्था सृजना गर्न जरुरी छ ।
नेपाल सरकारले कोरोना संक्रमणको कारण जनाएर लक डाउनको आदेश जारी गरेको तेस्रो हप्ता चलिरहेको छ । लक डाउन भैरहँदा पनि बिदेशबाट आएकाहरु संक्रमित भएका अवस्थामा भेटिने क्रम रोकिएको छैन । हुन त संक्रमण रोक्न लक डाउन बाहेक अर्को बिकल्प छैन नै । तर लक डाउन अवधिमा सरकारले तत्काल गर्नु पर्ने जनताको उद्दारको काम बिल्कुलै भैरहेको छैन । लक डाउनमा बसेर बाँच तर भोक भोकै मर भन्ने जस्तो ब्यवहार सरकारबाट भैरहेको छ । कोरोना संक्रमण रोकिएपछिको नेपाललाई कसरी माथि उठाउने भन्नेबारे पनि सरकारले सोचाई बनाएको पाइदैन । अहिलेको प्राथमिकता नेपाललाई खाद्यान्नमा कसरी आत्मनिर्भर बनाउने भन्ने सवालमा सरकारको सम्पूर्ण शक्ति केन्द्रित हुनु पर्ने हो । यसैबाट नै रोजगारीको सृजना पनि हुन सक्ने र खाद्यान्न निर्यातमा देशलाई बिकसित गराउन पनि सकिने हुन्छ । तर सरकारले जनतालाई घरभित्र थुनेर सडक निर्माण कार्यमा सक्रियता देखाइरहेको छ । सरकारको यस्तो उल्टो कामको सक्रियताले सरकारको बुद्दिको बिर्को खुल्न नसकेको स्पस्ट हुन्छ । अझै पनि कमिशनका स्रोतहरु खोज्नमै सरकार लागि परेको छ भन्ने सन्देश यस्तो तत्कालका लागि आवश्यक नदेखिएको काममा भैरहेको सक्रियताले दिइरहेको छ । आगे सरकारका कमाण्डर कामरेडलाई चेतना भया !


















