विद्यार्थीकाे अवस्था नाजुक : नागरिकता नहुँदा राहतकाे फारम भर्न पाइएन

131

काठमाडौं – ‘कीर्तिपुर नगरपालिका–९ को कार्यालयमा फारम भरेको १० दिनभन्दा बढी भइसक्यो। हालसम्म नगरपालिकाबाट एक मुठी पनि राहत पाइएको छैन’, त्रिवि कीर्तिपुरमा स्नातकोत्तर अध्ययनरत जयराम कुशवाहाले भने, ‘घरबेटीलाई गुहार गरेपछि नागरिकताको फोटोकपी पाएँ र राहत पाइएला कि भनेर फारम भरेको थिएँ।’

चैत २८ गतेदेखि कीर्तिपुर नगरपालिकाको वेबसाइटबाट पनि धेरै विद्यार्थीले राहतका लागि फारम भरेका छन्। फारम भर्न घरबेटीको नागरिकताको फोटोकपी चाहिन्छ।

कतिपय विद्यार्थी दिनहुँ वडा कार्यालय पुगेर फर्किएका छन्। तर, उनीहरुले नगरपालिकाबाट राहत पाउन सकेका छैनन्।

कुशवाहा भन्छन्, ‘हामीलाई घर फर्किने सवारीसाधनको व्यवस्था गरियोस् वा यहीँ खानेकुरा दिइयोस्। चिउरा र चाउचाउले भोक टारेको धेरै दिन भयो। अब त पैसा पनि सकियो।’

अर्की विद्यार्थी मनीषा यादव शुक्रबार साँझ नगाउँस्थित डेरामा खिचडी पकाउँदै थिइन्। भाइसँगै बस्दै आएकी मनीषाले दिउँसो विश्वविद्यालय हातामा बाँडिएको राहत लिएर आएको बताइन्।

कीर्तिपुरका एक समाजसेवीको सहयोगमा केही चामल, आधा किलो दाल, तीनतीनवटा आलु र प्याज बाँडिएको थियो। सोही चामल र दालको खिचडी पकाइरहेकी मनीषाले भनिन्, ‘अब त घरबेटीले कोठा भाडा पनि माग्न थालेका छन्।’

सिरहाकी मनीषा अंग्रेजीमा स्नातकोत्तर गर्दैछिन् भने भाइ एसईई दिने तयारीमा छन्। केही दिनको मात्रै लकडाउन ठानेर उनीहरू परीक्षाको तयारी गर्ने भनेर बसेका थिए। तर, लकडाउन लम्बिएको छ। घरबाट सामान आउन सकेको छैन।

नागरिकता नहुँदा समस्या

राहतका लागि कीर्तिपुर नगरपालिकाले भराइरहेको फारममा नागरिकता अनिवार्य गरिएको छ। फारामसाथ राहत लिने व्यक्ति र घरबेटीको नागरिकताको फोटोकापी बुझाउनुपर्छ। मनीषा र उनका भाइको नागरिकता छैन।

आफूले नागरिकता नपाएको जानकारी दिँदै मनीषाले भनिन्, ‘मेरो नागरिकता बनेको छैन। मेरो बुवाको जन्मसिद्ध नागरिकता छ। त्यही भएर मेरो पालोमा नागरिकता बनेन। भाइको उमेर नै पुगेको छैन। त्यसैले नागरिकता बनाउन गएको छैन।’

‘नगरपालिकामा कलेजको परिचयपत्रले मात्रै हुँदैन। नागरिकता चाहिन्छ नै’, उनले भनिन्, ‘मैले फारम कसरी भर्नेरु’

यस्तै समस्या अन्य विद्यार्थीको पनि रहेको सिरहाकै विद्यार्थी नेता पोषण यादव जनाएका छन् ।

‘हामीले समस्यामा परेका विद्यार्थीलाई सम्पर्क गरिरहेका छौं। फारम पनि भरिरहेका छौं। तर, धेरै साथीसँग नागरिकता छैन’, यादवले भने, ‘कलेजको कार्डले भए पनि राहत दिने व्यवस्था मिलाइनुपर्छ।’

पार्टीको राहत आफ्नै भ्रातृ संगठनलाई

केही दिनअघि नेपाली कांग्रेसका नेताहरुको सहयोगमा विश्वविद्यालयमा राहत वितरण गरिएको थियो। तर, त्यो राहत नेपाल विद्यार्थी संघका कार्यकर्ताले मात्र पाए।

गणित विषयमा स्नातकोत्तर गरिरहेका सरोज साहले भने, ‘राहत वितरण भइरहेको छ भन्ने जानकारी पाएपछि हामी पनि गएका थियौं। तर, नेविसंघका विद्यार्थी नेताहरुले आफ्नै संगठनका विद्यार्थीलाई बाँडे। सामान सकियो भनेर हामीलाई फिर्ता पठाइयो।’

यसैगरी शनिबार विश्वविद्यालयमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सहयोगमा बाँडिएको राहत पार्टी निकट विद्यार्थीहरुले मात्रै पाएका छन्। जसको विरोध विश्वविद्यालय मै विद्यार्थीहरुले गरेका थिए।
कतिपय संगठनले विश्वविद्यालयका विद्यार्थी संगठनलाई सम्पर्क गरी राहत जिम्मा लगाउने गरेको साह बताउँछन्। तर, त्यो राहत पार्टीगत आधारमा बाँडिएको र आवश्यक रहेको व्यक्तिसम्म पुग्न नसकेको उनले सुनाए।

बाजुरा–काठमाडौं सम्पर्क समाजले पनि कीर्तिपुरमा विद्यार्थीलाई राहत वितरण गरेको छ। तर, बाजुराका विद्यार्थीलाई मात्र राहत वितरण गरिएको छ।

कीर्तिपुर नगरपालिकाको स्पष्टीकरण

सुरुमा राहत वितरण गर्ने भनेर कीर्तिपुर नगरपालिकाले विद्यार्थीसँग फारम भर्न लगाएको थियो।

विद्यार्थीले फारम भरिसकेपछि राहतका लागि ताकेता गर्न थाले। त्यसपछि नगरपालिकाको अर्को विज्ञप्ति आयो।

नगरपालिकाले राहत वितरणका लागि नभई तथ्यांक संकलनका लागि फारम भराइरहेको भनी विज्ञप्ति जारी गर्‍यो।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले भने, ‘हामीले राहत बाँडेका छौं। पहिलो चरणमा चार दिन जति बाँड्यौं। अब दोस्रो चरणको राहत केही दिनपछि बाँड्ने छौँ।’

कीर्तिपुरमा बस्ने विद्यार्थीहरुले राहत पाएनन् भन्ने प्रश्नमा मेयर महर्जनले भने, ‘खानै नपाएका विद्यार्थीलाई राहत दिएका छौं। होस्टलमै पनि पुर्‍याएका छौं।’

‘विश्वविद्यालयमा विद्यार्थी नेता र प्रिन्सिपलसँग छलफल गरेका छौं’, उनले भने, ‘विद्यार्थी र विश्वविद्यालयकै समन्वयमा राहत प्रदान गरिँदै छ।’

फारम भरेका विद्यार्थीलाई अबको केही दिनमा राहत वितरण गरिने उनले सुनाए।

देशकै सबभन्दा पुरानो र सबभन्दा बढी विद्यार्थी पढ्ने त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा छ। जसकारण कीर्तिपुरमा बस्ने अधिकांश विद्यार्थी छन्। कोठाभाडामा लिएर बस्ने विद्यार्थी त्रिभुवन विश्वविद्यालय र आसपासका निजी स्कुल तथा कलेजमा पढ्छन्।

लकडाउन बढ्ने सम्भावना भएपछि अधिकांश विद्यार्थी घर फर्किन चाहेको विद्यार्थी नेता पोषण यादवले जनाए । नेपालसमयबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here