केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले बन्दाबन्दीमा अपराध घटेको दाबी गरे । एकै दिनमा हजारभन्दा बढी अपराधका घटना हुन्थे, बन्दाबन्दीले घटायो । सबै घरभित्र बन्दाबन्दी भएकाले पनि अपराधका घटनामा कमी आएको भनाइ उहाँको छ । उहाँले ‘बन्दाबन्दी’मा अपराध शून्यमा झरेको अपेक्षा नागरिकको छ तर त्यस्तो हुँदैन चोरी, डकैती, लुटपाट, दुर्घटना र सङ्गठित अपराधका घटनामा नियन्त्रण आए पनि अन्य घटना सामान्य रूपमा देखिएका छन्, जबर्जस्ती करणी र महिला हिंसाका घटना बढी देखिएका छन् भने । प्रदेशअनुसार सबैभन्दा बढी अपराधका घटना प्रदेश–२ मा दुई सय २५, प्रदेश–१ मा एक सय ६०, प्रदेश–५ मा एक सय ५९, काठमाडौँ उपत्यकामा एक सय ४४, गण्डकी प्रदेशमा एक सय चार, प्रदेश–३ मा ७७, कर्णाली र सुदूरपश्चिम क्रमशः ५६÷५७ रहेका छन् । नेपाल प्रहरीले मुद्दा नै दर्ता गरी आवश्यक कानुनी कारबाही प्रक्रिया सञ्चालन गरेका ज्यान सम्बन्धी अपराध अन्तर्गत कर्तव्य ज्यान १५, ज्यान मार्ने उद्योग २२, भवितव्य ज्यान एक सय ५४, गौवध एक, आत्महत्या दुरुत्साहन सात र फुटकर ज्यान ८४ घटना उल्लेख गरिएको छ ।
त्यस्तै आत्महत्या अपराधअन्तर्गत विष सेवन गरी ३४, झुण्डिएर दुई सय १३, पानीमा हाम फालेर र हतियार प्रयोग गरी क्रमशः चार÷दुई जनाले गरी ६ जनाले आत्महत्या गरेका छन् । बन्दाबन्दीका कारण नघटेको अपराध आत्महत्या पनि एक हो ।
त्यस्तै चोरी सम्बन्धी अपराध अन्य समयको तुलनामा भने बन्दाबन्दीमा घटेको छ । प्रधान कार्यालयका अनुसार साधारण चोरी २५, सवारी चोरी तीन, नकवजनी चोरी एक गरी करिब ३० वटा भएका छन् । चोरी घटना काठमाडौँ उपत्यकामा धेरै छन् । सङ्गठित तथा आर्थिक अपराध अन्तर्गत जुवातास र सट्टेबाजी तीन, ठगी नौ, लागूऔषध ४८, कालोबजारी २५, हतियार खरखजाना एक, अपहरण सम्बन्धी एक, चन्दा सङ्कलन एक तथा सामाजिक अपराध अन्तर्गत सार्वजनिक शान्ति कार्य्विरुद्ध ४१ जना र केही सार्वजनिक अपराधमा ७० जनाविरुद्ध मुद्दा चलाइएको जनाएको छ । अख्तियारीको अवज्ञा गरेको अभियोगमा १५, नागरिकतासम्बन्धी पाँच, धर्म प्रचार र कुटपिटसम्बन्धी दुईटा मुद्दा दर्ता भएका छन् । बोक्सी र घरेलु हिंसाविरुद्ध पनि एक÷एक वटा मुद्दा दर्ता भएका छन् । बन्दाबन्दी अवधिमा एक बालविवाह नौवटा बहुविवाहविरुद्ध मुद्दा दर्ता गरिएको छ । जबर्जस्ती करणीका घटना पनि बन्दाबन्दीमा रोकिएनन् । करिब ५५ वटा जबर्जस्ती करणी, ११ वटा जबर्जस्ती करणी उद्योग सम्बन्धी मुद्दा दर्ता भएका छन् ।


















