काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले सांसद डा. सुरेन्द्र यादवलाई डा. बाबुराम भट्टराईले अपहरण गरेको आरोप लगाएका छन् । भट्टराई र उनका सहयोगी विश्वदीप पाण्डेले अपहरण गरी लगेको आरोप लगाएका हुन् ।
अपहरणपछि उनलाई बाबुरामजीकै घरमा लगिएको हुनुपर्छ, यसमा विश्वदीपजीको योजना हुनुपर्छ । बस्नेतसहित सांसद किसानलाल श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनालमाथि अपहरणको आरोप लागिरहँदा बस्नेतको पछिल्लो भनाई सार्वजनिक भएको हो ।
बस्नेतले आफूमाथि लागेको अपहरणको आरोप कपोकल्पित र फण्डा भएको दाबी गरे । उनले भने, ‘बाबुरामजी र विश्वदीपजी पहिल्यै देखि प्रोपोगान्डा र फन्डा गर्न जान्नुहुन्छ ।’ यसले आफ्नो राजनीतिमा कुनै असर नपर्ने बस्नेतले जनाए ।
बस्नेतले धनुषास्थित सांसद यादवको घरमा पुगी भेटी खाना समेत खाएको खुलाए । राजनीतिक विषयमा कुराकानी समेत गरेको बताउँदै भने, ‘हाम्रो पार्टीमा समस्या छ भनेर सुरेन्द्र यादवले भन्नुभएकोले कुराकानी गरेका हौं ।’
काठमाडौंमा आउँदा पनि अलग अलग गाडीमा आएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटको समय मिलाइदिन आग्रह गरेपछि हुन्छ भनेको बताए । उनले भने, ‘उहाँ मेरियट होटलमा बस्नुभयो । प्रधानमन्त्रीसँग समय मिलाइदिनुपर्यो भनेकोले विहान या बेलुका समय मिलाउने कुरा भयो ।’ समाजवादी पार्टीका ७ जना सांसदहरुले भेट मिलाइदिन भनेको समेत जनाए ।
बस्नेतले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई साइबर क्राइमको मुद्दा लगाउने चेतावनी समेत दिए । उनले आफ्नो चरित्र हत्या गर्न भट्टराई र उनका सहयोग विश्वदीप पाण्डेलगायतलाई समेत साइबर क्राइमको मुद्दा लगाउने चेतावनी दिएका हुन्

















