काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । हजो थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
प्रयोगशाला परिक्षण
नेपालमा पीसीआर विधिबाट १४,०९६ परिक्षण गरिएको छ । त्यसैगरि आर डिटि विधिबाट ५२,९७० परिक्षण गरिएको हो । गत २४ घण्टा भित्र ९९१ थप प्रयोगशाला परिक्षण भएको छ ।
हालसम्मको आरडिटी विधिबाट प्रदेश नं १ मा ६,३२८, प्रदेश नं २ मा ५,७९७, बागमती प्रदेशमा ८,९४०, गण्डकी प्रदेशमा ६,१९७, प्रदेश नं ५ मा ५,३३०, कर्णाली प्रदेशमा ५,९७७, र सुदुर पश्चिम प्रदेशमा १४,४०१ परिक्षण गरिएको छ ।
क्वारेनटाइन बसेका व्यक्तिहरुको सङ्ख्या कति छ त ?
क्वारेनटाइनमा बसेका व्यक्तिहरुको सङ्ख्या १९,७३४ पुगेको छ जसमध्ये प्रदेश नः १ मा २०१८, प्रदेश नः २ मा १२५३, बागमती प्रदेशमा २६२, गण्डकी प्रदेशमा ६६९७, प्रदेश नः ५ मा ७८८४, कर्णाली प्रदेशमा ३७५८, र सुदुर पश्चिम प्रदेशमा ३,८९९ व्यक्तिहरु रहेका छन् ।
क्वारेनटाइनमा बसेका व्यक्तिहरुलाई प्रवक्ता देवकोटाले, “आ–आफ्नो व्यक्तिगत सरसफाइमा जोड दिने, साबुन–पानीले मिचिमिचि हात् धुने, मन्त्रालयले नियमित रुपमा दिएको निर्देशिका र हरेक सुचनाहरु पढ्ने, मन्त्रालयसँग सम्पर्कमा रहने, र निराश नहुने” जस्ता सुझाबहरु दिए ।
आइसोलेसन र रेड जोन
आइसोलेसनमा रहेका बिरामीहरुको सङ्ख्या १३६ रहेको छ जसमध्ये उपत्यकाभित्र ७ जना भने उपत्यका बाहिर १२९ जना रहेका छन् ।
रेड जोनमा रहेका व्यक्तिहरुको सङ्ख्या ३३३ रहेको छ र तिनीहरु सम्भावित सङ्क्रमित हुनसक्छन् तसर्थ रेड जोनमा भएका व्यक्तिहरुलाई महाशाखाले ट्रेसिङ्ग गर्दैछ भन्ने मन्त्रालयको दाबी छ ।
डिस्चार्ज हुनेहरुको सङ्ख्या कति पुगेको छ त ?
कोशी अञ्चल अस्पतालमा उपचार भइरहेका ६ जना सङ्क्रमितको पुन परिक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएकाले उनीहरुलाई हिजो विहान डिस्चार्ज गरिएको थियो । उनीहरु भर्ना भएको १९ दिनपछि डिस्चार्ज भएका हुन् । यसरी नेपालमा सङ्क्रमणबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २२ पुगेको छ ।
थप सङ्क्रमित को हुन् त ?
गत बैशाख ११ गते डिस्चार्ज भएका काठमाडौँका ५८ बर्षिय पुरुषलाई फलोअपमा बोलाएर पीसीआर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दाबी गरेको छ । अहिले ती पुरुषको उपचार पाटन अस्पतालमा भइरहेको छ । त्यसैगरी रौतहटका १९ बर्षिय पुरुष र पर्साका ४४ बर्षिय पुरुषको पनि फलोअपमा पीसीआर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थिए । दुवैजनालाई नारायणी अस्पतालमा भर्ना गरिएको छ ।
हिजो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा वीर्गन्जबाट प्रप्त स्याम्पलहरुको परिक्षण गर्दा पर्साको १७ जना व्यक्तिहरुको रिपोर्ट पोजेटिभ आएको थियो । प्रवक्ता देवकोटाले हिजो संक्रमण पुष्टि भएकाहरुमध्ये १० जना पुरुष र ७ जना महिला रहेको जानकारी दिए । साथै संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको पनि उनले जानकारी दिए ।
अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन् । सबै बिरामीहरुको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


















