अमेरिकाले प्रत्येक वर्ष इण्डो प्यासेफिक क्षेत्रका थल सेनाका प्रमुखहरुको सम्मेलन आयोजना गर्दै आएको छ । यसपटक भने भिडियो कन्फेन्र्समार्फत सम्मेलन आयोजना भएको हो । जसमा विभिन्न देशका सेना प्रमुख र प्रतिनिधीहरुले आ-आफ्नो देशको सुरक्षा अवस्था र कोरोना भाइरसको समस्याबारे धारणा राखेका थिए । नेपाली सेनाका रथी शर्माले कोरोना भाइरसको महामारीविरुद्धको लडाई सवै मुलुकहरुले मिलेर सामना गर्नुपर्ने बताएका थिए । उनले नेपाली सेनाले जनताको स्वास्थ्य सुरक्षाको लागी अहोरात्र काम गरिरहेको र सरकारको योजनालाई कार्यान्वयन गरिरहेको बताएको जनाइएको छ । शर्माले सीसीएमसीको बारेमा समेत सम्मेलनमा चर्चा गरेको बुझिएको छ ।
भिडियो कन्फेन्र्समार्फत भएको दुई दिने सम्मेलनको प्रमुख वक्ताहरुमा युएस इण्डो प्यासेफिक कमाण्डका कमाण्डर एडमिरल फिल एस डेभिडसन र अमेरिकी सेनाका चीफ अफ जनरल स्टाफ जनरल जेम्स सी म्याककनमिल थिए । अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल पल जे लेक्यामेराले अमेरिकी सरकारको खुला र स्वतन्त्र इण्डोप्यासिफिक रणनीतिले यो क्षेत्रका सबै राष्ट्रहरुको हित हुने दावी गरे ।
सम्मेलनमा नेपाल,भारत, अष्ट्रेलिया, बंगलादेश, क्याम्बोडिया, क्यानडा, फिजी, इन्डोनेसिया, जापान, लाओस, मलेसिया, मंगोलिया, न्यु क्यालिडोनिया, न्यूजिल्याण्ड, पपुवा न्युगिनिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड, तिमोर लेस्ते, टोंगा र बेलायतको सहभागिता थियो । सम्मेलनमा कोरोना भाइरसको माहामारीपछि इण्डो प्यासिफिक क्षेत्रको साझेदारी अझ मजवूत बनाउने विषयमा सहमति भएको अमेरिकी सेनाको प्यासेफिक पब्लिक अफयेर्सले जनाएको छ ।

















