काठमाडौं – शुक्रबार बसेको नेकपा स्थायी कमिटी बैठकमा कोरोना भाइरसले छुन नसक्ने भन्दै चीनमा बनेको जन्तर (भाइरस रिमुभिङ कार्ड) बाँडिएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दाै स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले घाँटीमा भिरेको ‘भाइरस रिमुभिङ कार्ड’ देखाउँदै भने, ‘सानो केटाकेटी हुँदा धामीले भुत–प्रेत लाग्दैन भनेर जन्तर लगाइदिन्थे, अहिले कोरोना जन्तर लगाइदिए ।’ बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही नेतालाई ‘कोरोना जन्तर’ बाँडेका थिए ।
कोरोनाको खोप पत्ता नलागेको अवस्थामा अहिले नै प्रयोग गर्न नहुने विज्ञहरु बताउँछन् । यसले कोरोना संक्रमण रोक्न कुनैपनि काम नगर्ने बरु नाक तथा मुखको नजिक राख्दा यसमा भएको क्लोरिन डाइअक्साइडले आँखा, छाला तथा स्वाश्प्रश्वासमा गम्भीर असर गर्ने वरिष्ठ जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डे बताउँछन् । बैज्ञानिक पुष्टि र अनुसन्धानबिना यसको प्रयोग नगर्न उनको आग्रह छ ।
कोरोना जन्तर (भाइरस रिमुभिङ कार्ड) बारे डा.पाण्डेको विचार:
जापानको एउटा कम्पनीले क्लोरिन क्लोरिनडाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घांटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३/४ महिना पहिले निकालेको थियो । यसलाई जापान, हङकङ, चीन, भियतनाम, अरबका देशहरु लगायत धेरै देशमा प्रयोग गरिंदै आएको छ । जसरी ओडोमस वा धुप लगाउंदा लामखुट्टे भाग्दछन् त्यसै गरि यो घांटीमा झुन्ड्याउदा एलर्जी गराउने तत्व, ब्याक्टेरिया तथा भाइरस भाग्छन् भन्ने कन्सेप्ट राखेर यो कार्ड बनाइएको हो । यो कार्डले ३० दिन काम गर्ने तथा ५० सेमि वरिपरी काम गर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै यसले बिरामी, जेष्ठ नागरिक, बालबालिका र इम्युनिटी पावर कम भएका व्यक्तिलाई उपयोगी हुन्छ भनेर उत्पादक कम्पनीले उल्लेख गरेको छ । हङकङका भाइरोजिष्ट तथा इम्युनिलोजिष्ट डा. एरिन डेविडसनले भनेका छन् यो पुरै भ्रम हो, यसले स्वाश्प्रश्वासजन्य भाइरसबाट सुरक्षा गर्दैन ।
यसको अध्ययन गर्दा मेरो के निष्कर्ष छ भने यसले कोरोना संक्रमण रोक्न कुनैपनि काम गर्दैन । नाक तथा मुखको नजिक राख्दा यसमा भएको क्लोरिन डाइअक्साइडले आँखा, छाला तथा स्वाश्प्रश्वासमा गम्भीर असर गर्न सक्दछ । क्लोरिनडाइअक्साइड भुँई, टेबुल आदि सफा गर्न प्रयोग गरिन्छ । यसलाई अनुहारको नजिक ल्याउनु हुँदैन । यसलाई भियतनाम लगायतका देशमा प्रतिबन्ध लगाइएको छ । यसको प्रयोग गर्ने व्यक्तिमा फल्स प्रोटेक्सन अर्थात गलत रुपमा सुरक्षित महशुष हुने भएकोले प्रयोगकर्ताले सुरक्षा सतर्कता नअपनाउने खतरा हुन्छ । जसले गर्दा कोरोना संक्रमण सर्ने जोखिम बढ्दछ ।
कोभिड–१९ को कुनैपनि औषधि तथा खोप नभएको समयमा मान्छेको भावनालाई क्यास गर्न बिभिन्न कम्पनीले समयसमयमा ल्याउने उपभोग्य बस्तुमा हामीले विश्वास गरेर प्रयोग गरिहाल्नु हुँदैन ।
चीनको कम्पनीले पनि निकालेको यो कार्डको निर्यातकर्ताले नेता तथा सभासदलाई उपलब्ध गराएर निशुल्क रुपमा ठूलो बिज्ञापन गर्न सफल भएको छ । संसद भवन वरिपरी बेच्न राख्नुको अर्थ बुझ्न केहि गाह्रो छैन ।
यो कार्ड धेरै जनाले लगाएर बन्द कोठाभित्र बैठक गर्दा यसको घनत्व उच्च भएर बैठकमा सहभागी अधिकांश व्यक्तिलाई असर गर्न सक्ने सम्भावना धेरै हुन्छ । तसर्थ बैज्ञानिक पुष्टि र अनुसन्धानबिना यसको प्रयोग नगरौं ।


















