अहिलेसम्म कोरोना भाइरस सर्न सक्ने दुई तरिकालाई मात्र नियन्त्रणको विषयमा प्रयास हुँदै आएको छ । तत्काल कुनै संक्रमितबाट कोरोना भाइरस सर्न सक्ने जोखिम र दोस्रो, संक्रमण फैलाउन सक्ने सतहमा छोएर आफ्नो नाक, आँखा वा मुखमा छुँदा सर्ने जोखिम ।
जसको कारण बन्द कोठाभित्र राम्रोसँग हावा आवतजावत हुन नसक्ने स्थानमा बस्ने मानिसहरु निकै जोखिममा हुन्छन् । त्यसैले हावा राम्रोसँग आवतजावत नहुने घरहरु, बस, कोठाहरु र अन्य यस्ता स्थानहरु झन् धेरै जोखिमपूर्ण हुन्छन् । जहाँ एक दशमलव ८ मिटरको भौतिक दुरी कायम राख्नुले पनि काम नगर्न सक्छ ।
यस विषयमा भने डब्ल्यूएचओले चेतावनी नदिएको र मानिसहरुलाई सचेत बनाउन नसकेको भन्दै ३२ मुलुकका २३९ शोधकर्ताहरुले हस्ताक्षर गरेर एक पत्र बुझाएका छन् । यसरी एरोसोल्सबाट बन्द कोठाभित्रको हावामा नै रहेको कारण संक्रमितसँगको भौतिक दुरी कायम राख्दा पनि संक्रमित बनेको धेरै उदाहरण पाइएको विशेषज्ञहरुले जनाउँदै आएका छन् ।
रेष्टुरेन्टमा डिनर गर्ने क्रममा पनि चीनमा धेरै मानिसहरु संक्रमित भएको उदाहरण पनि पाइन्छ । त्यस्तै अमेरिकामा मार्च १० मा भएको एक रिहर्सलमा अंकमाल गर्ने, हात मिलाउने, स्यानिटाइजरको प्रयोग गर्नेजस्ता मापदण्ड पुर्याउँदा पनि आठ जना बिरामी परेका थिए भने दुई जनाको मृत्युसमेत भएको थियो ।
यस विषयमा डब्ल्यूएचओले एरोसोल्सको माध्यमबाट पनि कोरोना भाइरस सर्न सक्ने भए पनि यस किसिमको संक्रमण इन्टुबेशनलगायतका उपचारको प्रक्रियाको क्रममा मात्र हुन सक्ने जनाएकाे छ ।
डब्ल्यूएचओका संक्रामक रोग विशेषज्ञ बेनेदत्त एलेग्रान्जीले अहिले शोधकर्ताहरुले अघि सारको बहसको सम्मान गर्ने र उनीहरुलाई बहसको मौका दिइने जनाएका छन् ।
शोधकर्ताहरुले भने यस विषयमा डब्ल्यूएचओले अहिलेसम्म आवश्यक अध्ययन नै नगरेको आरोप लगाएका छन् । उनीहरुले यस किसिमको संक्रमणबाट धेरै मानिस संक्रमित हुने र व्यापक मात्रामा कोरोना भाइरस फैलिनसक्ने बताएका छन् । कोरोना भाइरस फैलिनुको यो पनि महत्वपूर्ण कारण रहेको उनीहरुको धारणा छ ।
केहीले यो संक्रमण रोक्न मास्कको प्रयोग गर्नु उचित हुने बताएका छन् भने केहीले कोठामा राम्रोसँग हावा आवतजावत गर्न सक्ने वातावरण बनाउनुपर्ने जनाएका छन् ।


















