समुद्रमा सरिसृप वर्गभित्र पर्ने एकथरिका जीवहरु पाइन्छन्, जसलाई मोसासउरोइड्स (mosasauroids) वर्गभित्र राखिएको छ । यस प्रजातिको सरिसृपहरुको शरीरमा पौडी खेल्नका लागि पखेटाजस्ता भाग हुन्छन् । काडवेल र लिले प्राचीन कालका खुट्टा भएका सर्पहरु यसै प्रजातिको हुनुपर्छ भनी बताएका छन् । उनीहरुका अनुसार त्यस बेलाका खुट्टा भएका सर्पहरुले खानाको खोजी गर्ने क्रममा विस्तारै आफूलाई जमीनको सट्टा समुद्रमा बस्न अभ्यस्त बनाउँदै लगे । त्यसले गर्दा उनीहरुको शरीरको खुट्टाको आकार पनि विस्तारै परिवर्तन हुँदै गयो र पौडी खेल्नका लागि सजिलो हुने पखेटाजस्तो बन्न पुग्यो ।
त्यसो त लामो र पातलो स्वरुपमा फेला परेका ती जिवाशेषहरुलाई त्यसबेला वैज्ञानिकहरुले सर्पको हैन, छेपारोका जिवावशेषहरु भनी मानेका थिए ।
आजभोलिका धेरैजसो जीव वैज्ञानिकहरु के विश्वास गर्छन् भने सर्प जमीनभित्र बस्ने छेपारोबाट विकसित भएको जीव हुनुपर्छ । किनभने, अझै पनि सर्पका केही आदिम प्रजातिहरु जमीनभित्रका दूलाहरुमा बस्ने गर्छन् । फेरि बोआ समूहका केही सर्पहरुमा त साना र अति नै अविकसित अवस्थामा रहेको र करिब करिब लोप भइसकेको अवस्थामा रहेको हिप र खुट्टाका हड्डीहरु समेत विद्यमान रहेका हुन्छन् ।


















