
जलेश्वर – अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले जनाए ।
करिव १६० वर्षभन्दा पूरानो राणाकालीन कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ । वर्षाको बेला यस कारागार पटक पटक डुबानमा पर्दै आएको उनले जानकारी दिए ।
त्यस्तै कारागार सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई समेत समस्या परेको छ । पानीमै उभिएर ड्युटि गर्नुपरेको छ । समस्याबारे जलेश्वर नगरपालिकालाई पटकपटक लिखित र मौखिक आग्रह गर्दा कुनै सुनुवाई नभएकोे जेलर महासेठले बताए । कारागारमा आज एकै दिन १५४ बन्दीमा ज्वरो तथा चारजनामा झाडापखालाको समस्या देखिएको जेलर महासेठले जानकारी दिए । रासस


















