काठमाडौं – ऋण रकम नतिर्नका लागि अपहरणमा परेको भनी झुक्याएको अभियोगमा काठमाडौं महानगरपालिका-४ चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत असार २४ गतेदेखि घरबाट सम्पर्क विहिन भएका उनी अपहरणमा परेको हुन सक्ने सूचना साउन २ गते प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाले खोजी कार्य तिब्र बनाएको थियो । सो क्रममा प्रहरीले काठमाडौं नयाँबसपार्कस्थित सुगन्ध होटलमा मंगलबार राति रेग्मीलाई फेला पारेको हो ।
अपहरणको नाटक गरी उक्त होटलमा युवतीसँग बसेको अवस्थामा फेला परेका रेग्मीले विभिन्न व्यक्तिहरूसँग जग्गा व्यवसाय गर्छु भन्दै करोडौ रुपैयाँ लिएको र उक्त रकम तिर्नु नपरोस भनी अपहरणको नाटक गरेको खुल्न आएको छ ।
अपहरणमा नपरेका रेग्मीले प्रहरीलाई अनावश्यक हैरानी दिई राज्यको स्रोत साधनहरूको समेत दुरूपयोग भएकोले आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।


















