काठमाडौं – कक्षा १२ को परीक्षा निर्धारित समयमा सञ्चालन गरेर नतिजा प्रकाशित गर्न नसके नेपालका सबै विश्वविद्यालयको स्नातक तहको कार्यक्रम प्रभावित हुने स्थिति देखिएको छ ।
साउथ बेस्टर्न कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसीले ‘ए’ लेबल लगायत सबै कार्यक्रमको अन्तिम मूल्याङ्न गर्ने
अधिकार शिक्षकमा रहेको र त्यसकै आधारमा प्रमाणीकरण हुने गरेकाले विशेष परिस्थितिमा कक्षा १२ का लागि पनि एक पटक विद्यालयलाई जिम्मा दिनु उपयुक्त विकल्प हुने जनाए । यसो हुन सके विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने र विश्वविद्यालय तहका सबै कार्यक्रम समेत अघि बढ्न बाटो खुल्ने भएकाले यसमा तत्काल सोच्नुपर्ने उनको सुझाव छ ।
ललितपुरको आदर्श सौल माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोज आचार्य सम्भव भएसम्म गुणस्तर कायम गर्न परीक्षा लिनैपर्ने सुुभाव दिँदै शैक्षिक सत्र नै गुम्ने अवस्थामा विकल्पको खोजी गर्नुपर्नेमा जाेड दिए ।
विकल्प खोजिएको अवस्थामा शिक्षकलाई नै मूल्याङ्कन गर्ने जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ । कक्षा १२ का विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा लिने सम्भावना केही महिना टरेको तथा अनलाइन माध्यमबाट परीक्षा लिने सम्भावना पनि न्यूून रहेकाले विद्यालयलाई मूल्याङ्कन गर्नदिने सम्भावना बढी रहेको जनाइएको छ ।
शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ताले दसैँसम्म परीक्षा सक्ने योजना रहेको भए पनि अब त्यो सम्भावना टरेको बताए ।विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले विद्यार्थीको शैक्षिक सत्र अवरुद्ध नहुने गरी सोच्नुपर्ने अवस्था आएको जनाए । उनले छिटो निर्णयमा पुग्न सुुझाव दिए ।
यसले गर्दा विश्वविद्यालयका शैक्षिक कार्यक्रमसमेत पूरै प्रभावित पार्ने भएकाले परीक्षाको विकल्पका बारेमा सोच्नुपर्ने उनको भनाइ छ । विद्यार्थीको ऊर्जाशील समयको सदुपयोग गर्दै प्रविधिबाट पठनपाठनबाट अध्ययन गर्ने बाटो खोल्नका लागि पनि कक्षा १२ को विषयमा निर्णय गर्न ढिलाइ गर्न नहुने उनले बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

















