स्थानीयवासीको जनभावनाअनुरुप सरकारले तत्काल काम अघि बढाउनुपर्ने माग गरिएको छ । स्थानीयवासी शङ्कर श्रेष्ठले सडक व्यवस्थित नहुँदा जीवनयापन असहज भएको बताए । उनी भन्छन्, “हामीले धेरैपटक दबाब दिँदा पनि सरकारको कुनै ध्यानाकर्षण भएन ।” हिलाम्मे सडकका कारण बाइसधारामा आउने पर्यटकमा नकारात्मक प्रभाव परेको यहाँका अर्का स्थानीयवासी हरिदास थापाले बताए । “यो क्षेत्रको सडकको स्तरोन्नति गर्ने आश्वासन धेरै जनप्रतिनिधिले दिए तर उनीहरुले आफ्नो बाचा पूरा गर्न सकेनन्”, उनले भने ।
हाल सडक विस्तारका लागि खनिएको जग्गामा कुनै बेला पाटी, विद्यालय रहेको र विभिन्न जिल्लाबाट काठमाडौं आउने सर्वसाधारण बस्ने गरेका थिए । बाटो विस्तारका क्रममा बाँकी रहेको भग्नावशेषका कारण बालाजुको उत्तरी क्षेत्रका सर्वसाधारणले वर्षौंदेखि सास्ती व्यहोर्दै आएका छन् । आफूहरुको समस्या समाधानका लागि सरकारले पहल गरे पनि सार्वजनिक जग्गा हड्पेका हुँदा अनावश्ययक दुःख दिएकाले आफूहरु सडकमा उत्रिएको स्थानीयवासीको भनाइ छ ।
बालाजु बाइपासको खराब सडकका कारण लामो समयदेखि बाइसधारा उद्यान र त्यहाँ रहेको वाटर पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पनि घटेको छ । ऐतिहासिक बाइसधारा पार्कलाई व्यवस्थित बनाउन र पर्यटकीय क्षेत्रमा आवागमन सहज बनाउनका लागि सार्वजनिक जग्गा हड्पेर बसेकालाई विस्थापन गराउनका लागि स्थानीयवासीले पटकपटक माग गर्दै आइरहेका थिए । रासस