काठमाडौं – कोरोना भाइरस कोभिड –१९ को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ लिन बाटो खुला गरेको छ । त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि सम्पर्कविहीन सबै तहका विद्यार्थीको खोजी कार्य सुरु गरेको छ ।
सरकारको पत्र प्राप्त भएलगत्तै अब विद्यार्थीलाई बाहिरी मुलुकमा अध्ययनका लागि जाने बाटो खुल्नेछ । विद्यार्थी तथा अभिभावकको चरम दबाबपछि मन्त्रालयले अनुमतिका लागि मन्त्रिपरिषद्सित स्वीकृति माग गरेको जानकारी शिक्षा मन्त्रालयका अधिकारीहरूले दिएका छन् ।
मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख एवं सहसचिव रामशरण सापकोटाले विदेशमा पढ्न पाउने विद्यार्थीको अधिकारको सरकारले वञ्चित गरेको गुनासो थेग्न कठिनाइ भएको बताउनुभयो । सरकारले विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन लिखित रूपमा आफूलाई अनुमति दिएको अवस्थामा यसका लागि प्रक्रिया थाल्ने जानकारी उहाँले दिनुभयो । अन्तर्राष्ट्रिय हवाई उडान प्रारम्भ हुन नसकेको अवस्थामा नेपाली विद्यार्थी विदेशी विद्यालयमा भर्ना हुन सहज भने नभएको जनाइएको छ ।
यो अवस्थामा नेपाली विद्यार्थीले अनलाइनकै माध्यमबाट विदेशी विश्वविद्यालयको विद्यार्थीका रूपमा अध्ययन गर्ने सम्भावना देखिएको जनाइएको छ । नेपालबाट ८० प्रतिशतभन्दा बढी विद्यार्थी व्यवस्थापन विषयको उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् । बीस प्रतिशत विद्यार्थी चिकित्सा शास्त्र, इन्जिनियरिङ लगायत विषयमा अध्ययनका लागि जाने गरेको पाइएको छ ।
विदेशी मुलुकमा पनि कोरोना सङ्क्रमण कायमै रहेको तथा रोजगारीका क्षेत्र सङ्कुचन भएकाले नेपाली विद्यार्थीलाई सहज नहुने अनुमान अधिकारीहरूले गरेका छन् । नेपालबाट सबैभन्दा धेरै विद्यार्थी अस्ट्रेलिया, जापान, अमेरिका, बेलायत, क्यानडा लगायत मुलुकमा जाने गरेका छन् । पछिल्लो समय साइप्रससमेत धेरै विद्यार्थी जाने गरेका छन् ।
यसैबीच त्रिभुवन विश्वविद्यालयले महिनौँसम्म सम्पर्क बाहिर रहँदा स्थगित परीक्षाको तयारी तथा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको भन्दै विद्यार्थीको खोजी कार्य सुरु गरेको छध्र
सेमेस्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको कक्षाहरू सुचारु हुन थालेपछि विश्वविद्यालयले अब स्नातक तहका विद्यार्थीको खोजी कार्य सुरु गरेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।


















