काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज निजी क्षेत्रका नेतृत्वकर्ताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा भर्खरै अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडापनि सहभागी थिए ।
उनले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गरे । प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असूलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे ।
काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति स्पष्ट पार्दै उनले भने,“भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरूलाई यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि आह्वान गर्दछु । छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैटौँ मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन ।”
छलफलमा उद्योगी तथा व्यवसायी भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतीश मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले सुझाव प्रस्तुत गरेका थिए । त्यसक्रममा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावमा सरकारले यसबेला चालेका विभिन्न कदम, गरेको अध्ययन र सम्बोधनका बारेमा स्पष्ट गरेका थिए । रासस


















