नयाँ नियम अनुसार दैनिक २ देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यसको जानकारी दिएका छन् । योसँगै सरकारले खोलेको अन्तर्राष्ट्रिय व्यवसायिक (नियमित)उडानतर्फ एयरलाइन्सले अनुमति मागेमा थप उडानको अनुमति पाउने भएका छन् ।
भट्टराईका अनुसार उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रममन्त्रीबीचको छलफल र प्रधानमन्त्री केही शर्मा ओलीसँगको परामर्शबाट उडान थप गर्ने निर्णय गरिएको हो । उनका अनुसार अब पीसीआर नेगेटिभ भएका मात्र यात्रु ल्याउने गरी नियमित उडान खुला भएको मुलुकमा अब एयरलाइन्सले थप अनुमति मागेमा मन्त्रालयले उडानको अनुमति दिने भएको छ । हालको पीसीआर र क्वारिन्टिनसम्बन्धी नियमलाई यथावत राखेर कोटा हटाइएको हो ।
अर्कोतर्फ कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल ल्याउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिने निर्णय समेत गरेको छ ।
मन्त्री भट्टराईका अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था हुने भएको छ । उनका अनुसार नियमति उडान भएका मुलुकमा पीसीआर नेगेटिभ भएका यात्रुका लागि समेत माग आएमा उडान थप गर्न सकिने गरी निर्णय भएको छ ।


















