एजेन्सी – क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । क्रोएसिया फुटबल फेडेरसनले सोमबार राकिटिकले सन्यास घोषणा गरेको जनाएको छ ।
उमेरले ३२ वर्षीय राकिटिकले क्रोएसियाको राष्ट्रिय टिमबाट १०६ खेल खेल्दै १५ गोल गरेका छन् । हाल ला लिगा क्लब सेभियाबाट खेलिरहेका राकिटिकले प्रशिक्षक ज्लाट्को डालिक फेडेरसनका अध्यक्ष डेभोर सुकर र कप्तान लुका मोडरिकलाई आफ्नो निर्णयबारे जानकारी गराएको क्रोएसिया विकले जनाएको छ ।
क्रोएसियन आमाबाबुबाट स्वीट्जरल्याण्डमा जन्मिएका राकिटकले उमेर समूहमा स्वीट्जरल्याण्डको लागि खेलेका थिए । तर सिनियर टिममा भने क्रोएसियाबाट खेलेका थिए । सन् २००७ मा क्रोउसियाका लागि डेब्यू गरेका राकिटिकले सन् २००८, २०१२ र २०१६ मा तीन युरोकप तथा २०१४ र २०१८ को विश्वकप खेले । २०१८ मा विश्वकपमा क्रोउसिया फाइनलसम्म पुग्दा राकिटिक महत्तपूर्ण सदस्य थिए ।
स्पानिस जाइन्ट बार्सिलोनामा ६ सिजन बिताएर राकिटिक यसैसिजन पूर्वक्लब सेभिया फर्किएका छन् ।



