पछिल्लो समय उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

76

काठमाडौं –  उपत्यकामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दैछ । सबैभन्दा धेरै उपत्यकामा काठमाडाैँ जिल्लामा सङ्क्रमित छन् । त्यसपछि ललितपुर र तेस्रोमा भक्तपुर जिल्ला छ ।

नेपालमै पहिलो पटक चीनको वुहानबाट उद्धार गरिएका विद्यार्थीहरूलाई ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएको थियो भने विदेशबाट ल्याएर राखिने अधिकांश होल्डिङ सेन्टर भक्तपुर जिल्लामै छन् ।

भक्तपुरमा रहेका तीन हजार सात जना सङ्क्रमितमध्ये आइतबार साँझसम्ममा निको भएर एक हजार ६७२ जना घर फर्किएका छन् । सक्रिय सङ्क्रमितमध्ये ३९१ जना भक्तपुर जिल्लामा सञ्चालित आइसोलेसन सेन्टरमा रहेर उपचार गरिरहेका छन् भने अरु होम आइसोलेसनमा बसेका छन् । भक्तपुर जिल्लामा पाँच जनाको आइसीयूमा राखेर उपचार भइरहेको छ । भक्तपुर जिल्लामा कोरोना सङ्क्रमणका कारण ३५ जनाले ज्यान गुमाइसकेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख डा. कृष्णबहादुर मिजारले भक्तपुर जिल्लामा अहिलेसम्म तीन हजार सात जनामा सङ्क्रमण देखिएको बताउनुभयो । आइतबार साँझसम्ममा एक हजार ६७२ जना निको भइसकेको उहाँले स्पष्ट पार्नुभयो ।

‘हामीले सङ्क्रमितको स्वास्थ्य अवस्था हेरेर अस्पताल लैजाने गर्छाैँ । अहिले लक्षण नभएका र होम आइसोलेसनमा बस्ने अवस्था भएका सङ्क्रमित घरमै बस्नुभएको छ’ मिजारले भन्नुभयो ।

कुनै सङ्क्रमितको होम आइसोलेसनमा बस्ने वातावरण नभएका सङ्क्रमितलाई पनि आइसोलेसनमै लैजाने गरेको उहाँले बताउनुभयो । लकडाउन खुलेपछि घर गएकाहरू उपत्यका फर्कने क्रममा सङ्क्रमण बढ्ने भएसँगै जिल्ला स्वास्थ्य कार्यालयले आइसोलेसन निर्माणमा निक्कै सक्रियता देखाएको छ । भक्तपुर जिल्लामा मात्रै ८७१ बेडको आइसोलेसन रहेको छ । त्यसमध्ये ३९१ वटा बेड प्रयोगमा छन् भने ४८० बेड आइसोलेसन भक्तपुर जिल्लामा खाली नै छन् । त्यसमा तत्कालै सङ्क्रमित राख्न सकिने उहाँ बताउनुहुन्छ ।

भक्तपुर जिल्लामा स्वास्थ्यका मापदण्ड पालना नगर्ने, जथाभावी घुमफिर गर्ने, समूहमा बस्ने, मास्क लगाउने, हातको सरसफाइ नगर्ने जस्ता कारण सङ्क्रमण रोक्न थप चुनौती देखिएपछि त्यसलाई रोक्न निगरानी गर्ने समूहसमेत भक्तपुर जिल्लामा परिचालन भएका छन् । त्यसमा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी, स्वास्थ्य कार्यालयका कर्मचारीले निगरानी गरिरहेका छन् ।

सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि व्यवस्थापनमा कठिनाइ भएकाले मानिसको व्यवहारमा परिवर्तन गर्न नसक्दा सङ्क्रमण नियन्त्रणमा पनि चुनौती बढेको मिजार बताउनुहुन्छ । तर भक्तपुरमा हामीले आवश्यकता अनुसार आइसोलेसन वार्ड बनाइएकाे उहाँका भनाइ छ ।

भक्तपुर जिल्लामा आइसोलसन बेडको सङ्ख्या निक्कै राम्रो छ । खरिपाटी तथा नेपाली सेनाको प्रत्यक्ष निगरानीमा होल्डिङ सेन्टर तथा आइसोलेसन सेन्टर सञ्चालनमा छन् । तर जिल्ला अस्पतालमा पाँच शय्याको आइसीयूबाहेक अरु थप बेडहरू सञ्चालनमा छैनन् ।

कोरोनाको हटस्पट बन्दै गएको र सकृय सङ्क्रमितहरूको सङ्ख्यामा दैनिक वृद्धि भइरहेको काठमाडौँमा रहेका तीनवटा सरकारी कोभिड विशेष अस्पतालसँगै अरु अस्पताल सङ्क्रमितले भरिएका छन् । तर त्यसको विकल्पमा हुन सक्ने भक्तपुरका अस्पतालमा रहेको आइसीयू तथा भेन्टिलेटर भने सञ्चालन भएका छैनन् ।

सबैभन्दा धेरै बिरामीको उपचार हुने काठमाडाैँका टेकु, वीर र बलम्बु अस्पताल कोभिडका बिरामीले भरिएको नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

काठमाडाैँमै धेरै सङ्ख्यामा कोरोना सङ्क्रमितका बिरामीको उपचार भएको ललितपुरको पाटन अस्पतालमा पनि कोभिडका बिरामीको चाप उच्च रहेको छ । शिक्षण लगायतका अस्पतालमा पनि सङ्क्रमितको चाप छ काठमाडाैँ र ललितपुरमा कोरोना सङ्क्रमितले अस्पताल भरिँदा भक्तपुरमा भने आइसोलेसन बेड तथा आइसीयू बेड खाली छन् । तिनीहरूको प्रयोगको तयारीमा लागेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

भक्तपुर जिल्लाका रहेका विभिन्न अस्पतालले पाँच शय्याको बेड भरिएको छ । भक्तपुरमा रहेको २० आईसीयू शय्यालाई प्रयोगमा ल्याउने तयारी गरिएको मिजारले बताउनुभयो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट पत्र आएसँगै आईसीयू बेड सञ्चालन गर्न सकिन्छ उहाँले भन्नुभयो ।

भक्तपुरमा १२ वटा भेन्टिलेटर तत्कालै चलाउन सकिने अवस्थामा छन् । मन्त्रालयले अब कोरिया मैत्री अस्पताललाई तत्कालै कोभिड अस्पतालको रुपमा सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो ।

भक्तपुर अस्पतालमा पाँच, केएमसी अस्पताल दुवाकोटमा सात र नेपाल कोरियामैत्री अस्पताल थिमिमा आठ शय्या आईसीयू कोभिड–१९को उपचारका लागि छुट्याइएको छ तर मन्त्रालयको पत्र आएपछि मात्रै प्रयोगमा आउने छन् । तीमध्ये भक्तपुर अस्पतालका पाँच आईसीयू मात्र भरिएका छन् ।

भक्तपुरका विभिन्न अस्पतालका आइसोलेसन वार्ड खाली छन् । भक्तपुरमा एकै पटक सयौँ बिरामीलाई धान्न सक्ने संस्थागत आइसोलेसन केन्द्रसमेत खाली भएकाले एकै पटक सयौँ सङ्क्रमितलाई राख्न सक्ने पूर्वाधार भक्तपुरसँग छ ।

जिल्लामा सात संस्थागत आइसोलेसनमा ७०३ वार्ड छन् नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्र खरिपाटी आइसोलेसन केन्द्रमा २०० वार्ड छन् । खानेपानी कार्यालयको तेलकोटस्थित तालीम केन्द्रमा २३ आइसोलेसन वार्ड, कृषि विकास बैङ्कको तालीम केन्द्र बोडेको ५० आइसोलेसन वार्डमध्ये १२ वटा खाली छन् । सैनिक विद्यालय सल्लाघारीका १५० आइसोलेसन वार्ड, सूर्यविनायक ब्यारेकका ७५, सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटीमा १३० आइसोलेसन वार्ड छन्। भक्तपुर नगरपालिकाले हालै सञ्चालनमा ल्याएको ब्रम्हायणी आइसोलेसन केन्द्रका ७५ वार्डमध्ये केही वार्ड खाली नै छन् ।

नेपाल सरकारले आइसोलेसन वार्डमा रहेका बिरामीहरूलाई प्रतिदिन एक बिरामी बराबर दुई हजार, आइसियुमा रहेको बिरामीलाई आठ हजार तथा भेन्टिलेटरमा राखेर उपचार गराउने बिरामीलाई १५ हजार रुपियाँ उपलब्ध गराउने भएपनि मन्त्रालयबाट पत्र नआउँदा त्यहाँ बिरामी राखेर उपचार हुनसकेको छैन । मन्त्रालयसँग समन्वय भएको र भक्तपुरमा रहेका आइसीयू र भेन्टिलेटरसमेत प्रयोगमा ल्याउने मिजारले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here