सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका २, बरमझियाकी ४६ वर्षीया महिलाको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले अर्बुद (क्यान्सर) रोगबाट पीडित बिरामीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यही असोज २६ गते गरिएको पीसीआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको बताए ।
अर्बुदरोगलगायत विभिन्न दीर्घरोगबाट पीडित बिरामीमा सङ्क्रमण देखिएपछि धरानका चिकित्सकले रोगको अन्तिम चरणमा रहेको भनी घर फर्काएका थिए ।
योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने २३ पुगेको छ । सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये एक हजार १५१ जना निको भएका छन् ।


















