कोभिड १९को महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि यस बैंकले पहिलो त्रैमासमा वार्षिक प्रति शेयर आम्दानी रू. ४२.१४ आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको सोही अवधीको तुलनामा १ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई रू. १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकको स्व–पुँजीमा प्रतिफल २२.९६ प्रतिशत रहेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।
साथै बैंकको कुल निक्षेप रकममा व्यक्तिगत निक्षेपको हिस्सा ६४ प्रतिशत रहेको छ भने संस्थागत निक्षेपको हिस्सा ३४ प्रतिशत रहेको छ । यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्ष अन्त्यमा ०ं.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई यस त्रैमाससम्ममा ०.४० प्रतिशतमा झार्न बैंक सफल भएको छ ।
बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ । सोही अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८२ प्रतिशत कर्जा यस प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ ।
बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकका प्रमुख १० ग्राहक महानुभावहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.२५ प्रतिशत मात्रै रहेको छ, जुन समग्र बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ ।
साथै बैंकको कुल कर्जामा ५ करोड रूपैयाँभन्दा कम सीमा भएका कर्जाहरूको अंश ७८.८५ प्रतिशत रहेको छ । जुन बैंकिङ्ग क्षेत्रहरूमध्ये उत्कृष्टमा पर्छ । बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरी अगाडि बढिरहेको छ । जसको परिणाम स्वरूप प्रमुख १० निक्षेपकर्ताहरूको बैंकको कुल निक्षेपमा रहेको अंश केवल १३.३४ प्रतिशत मात्रै रहेको छ, जुन बैंकिङ्ग क्षेत्रकै उत्कृष्ट मानिन्छ ।
बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैर वित्तीय सुचांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक गत आ.व. २०७६÷७७ को अन्त्यमा कुल आम्दानी, शाखा कार्यालयहरू, एटिएम, पीओएस मर्चेन्ट र क्यूआर मर्चेन्टमा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान ओगट्न सफल भएको छ । साथै स्व–पुँजीमा प्रतिफल, ग्राहक महानुभावहरूको संख्या, कर्जा प्रवाह र चल्ती तथा बचत निक्षेपतर्फ अन्य वाणिज्य बैंकहरूमध्ये दोस्रो स्थानमा रहेको छ भने निक्षेप संकलनको हिसाबमा तेस्रो र खुद नाफामा चौथो स्थान ओगट्न सफल भएको छ ।
बैंकद्वारा आ.व. २०७६/७७ को लागि हालसम्म आफ्नो लाभांश सार्वजनिक गरेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश २१ मंसीर २०७७ मा सम्पन्न हुन गइरहेको बैंकको २३ औं वार्षिक साधारण सभाले स्वीकृत गर्ने एजेण्डा रहेको बैंकले जनाएको छ ।


















