कक्षा १२ को परीक्षा मंगलबारदेखि शुरु

417

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोनासम्बन्धी मापदण्ड सही ढंगले पालना गर्दै ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन् ।

परीक्षाको पूर्व सन्ध्यामा एक अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन अनुरोध गरेका छन् । सही ढंगले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात हुने जस्ता सामान्य कुरा पनि पालनामा हेलचेक्राइँ गर्दा कोरोना संक्रमणको महामारी गहिरिएको अनुभव राख्दै मन्त्री पोख्रेलले भनेका छन्, ‘युवा परीक्षार्थी भाइबहिनीहरुले आगामी परीक्षामा कोरोनासम्बन्धी मापदण्ड सही ढंगले पालना गर्दै अरुको लागि पनि दृष्टान्त बन्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै घरमा रहँदा होस् वा परीक्षा केन्द्र आउँदाजाँदा आवश्यक सचेतना अपनाउन अनुरोध गर्दछु ।’

उनले परीक्षा केन्द्रहरुमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षा सम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरुको व्यवस्थापन गरिएको बताउँदै मन्त्री पोख्रेलले ढुक्क भएर परीक्षामा सहभागी हुन अनुरोध गरेका छन् ।

कक्षा १२ को परीक्षा यही मंसिर ९ गते (मंगलबार) देखि शुरु हुँदैछ । यस पटकको परीक्षामा होम सेन्टर (आफू रहेको स्थान नजिकको परीक्षा केन्द्र) बाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यस पटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुने छ । बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने छन् ।

बाँकी २० प्रतिशत कक्षाकार्य, गृहकार्य, अतिरिक्त क्रियाकलाप, समय–समयमा विद्यालयले लिएको परीक्षासमेतलाई आधार मानेर विद्यालयले आन्तरिक मूल्यांकन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले यो परीक्षा सम्पन्न गर्दैछ । परीक्षाको सिलसिलामा परीक्षार्थीहरुलाई कोभिड संक्रमण पुष्टि भई परीक्षामा सहभागी हुन नसक्ने भएमा पुनः परीक्षा दिन पाउने व्यवस्था समेत मिलाइएको छ ।

परीक्षा केन्द्र वरिपरी भिडभाड नगरिदिन शिक्षामन्त्री पोख्रेलले अभिभावकहरुलाई अनुरोध गरेका छन् । उनले परीक्षालाई सुरक्षित, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि आवश्यक पहलकदमी लिन स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई पनि अनुरोध गरेका छन् । मन्त्री पोखरेलले कक्षा १२ को परीक्षा दिन लागेका सबै विद्यार्थीहरुलाई सफलताको शुभकामना दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here