चिनीको नयाँ मूल्य निर्धारण

111

काठमाडौं-साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चिनीको नयाँ मूल्य निर्धारण गरेको छ । कर्पोरेसनले हालैमात्र भारतबाट आयात गरेको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य प्रतिकेजी ७७ रुपैयाँ २० पैसा तोकेको हो ।
दशैं, तिहार तथा छठ जस्ता ठूला चाडंपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चाल गर्दै आएको कर्पोरेसनले उपभोक्ताहरुलाई ७० रुपैयाँ प्रतिकेजी मूल्यमा नै चिनी उपलब्ध गराइरहेकोमा सोमबारदेखि नयाँ चिनीको नयाँ मूल्य तोकिएको कर्पोरेसनका केन्द्रिय महाशाखाका व्यवस्थापक ब्रिजेशकुमार झाले जनाए  ।

‘बजारमा हल्ला गरिएजस्तो अहिले साल्टले चिनीको मूल्य बढाएको होइन । नयाँ चिनीको मूल्य निर्धारण गरिएको हो,’ झाले भने, ‘सरकारी स्वीकृतिअनुसार पछिल्लो समय भारतबाट आयात गरिएको चिनीको मूल्य, भाडा र व्यवस्थापन खर्च समेत जोडर नयाँ मूल्य तोकिएको हो । मूल्य बढाइएको होइन ।’

त्यसो त अन्य मार्केट तुलनामा साल्टको चिनीको मूल्य प्रतिकेजी ५–६ रुपैयाँले नै सस्तो रहेको झाको भनाइ छ ।
‘बजारमा हेर्ने हो भने अहिले पनि चिनी ८२–८३ रुपैयाँमा प्रतिकेजीमा कारोबार भइरहेको छ । तर साल्टले ७७ रुपैयाँ २० पैसामा नै चिनी उपलब्ध गराएको छ । यो पनि भर्खर नयाँ चिनी आएपछिको नयाँ मूल्य हो । नत्र हामीले हिजो सम्म ७० रुपैयाँमै सर्वसाधारणलाई चिनी उपलब्ध गराइरहेका थियौं,’ झाले भने ।

यद्यपी साल्टले तोकेको चिनीको नयाँ मूल्य काठमाडौं र आसपासका क्षेत्रलाई मात्र हो । व्यवस्थापक झाका अनुसार वीरगन्जका लागि प्रतिकेजी ७४ रुपैयाँ ५० पैसा र काठमाडौंका लागि प्रतिकेजी ७७ रुपैयाँ २० पैसा तोकिएको हो । वीरगंन्देखि काठमाडौंसम्मको ढुवानी भाडा, व्यवस्थापन खर्च लगायतका लागत खर्च जोडेर नयाँ मूल्य निर्धारण गरिएको हो ।

हालैमात्र साल्ट ट्रेडिङले सरकारी स्वीकृतिमा भारतको कल्कत्ताबाट पटकपटक गरी २० हजार मेट्रिकटन बराबरको चिनी आयात गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here