काठमाडौं–नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि वितरण गरिरहेको ‘पाठशाला सियुजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक तथा सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ।
यो अफरमा आबद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक हुन्छ। पहिलेदेखि प्रयोगमा रहेका प्रिपेड सिमकार्डलाई पाठशाला सियुजी सेवामा आबद्ध गर्न सकिन्छ। नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने प्रयोगकर्ताहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्ड लिई सियुजी सेवा उपयोग गर्न सक्नेछन्।
यसअन्तर्गत कुनै एक सार्वजनिक विद्यालयसँग सम्बद्ध भई कम्पनीको संस्थागत प्रयोगकर्ता समूह सियुजीमा आबद्ध हुन सेवाग्राहीलाई मासिक जम्मा ९९ रुपैयाँ मात्र (सरकारी कर र स्वामित्व करबाहेक) लाग्छ। यसमा आबद्ध सेवाग्राहीले क्लोज्ड ग्रुपभित्र असीमित कुराकानी गर्न सकिने भ्वाइस सेवा उपलब्ध हुनेछ। यसअघि शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा रहेका शैक्षिक सामग्री प्रयोग गर्न ५ जिबी डाटा उपलब्ध भएकोमा यसलाई बढाएर ८ जिबी डाटा उपलब्ध गराइनेछ।
त्यसैगरी समूहभित्र थप शुल्क बिना बल्क एसएमएस पठाउन सकिने सुविधा यथावत् छ। साथै, कुनै पनि समयमा जुनसुकै प्रयोजनका लागि १ जिबी डाटा र समूहभित्र १ सयवटा एसएमएस पठाउन सकिने सुविधा थप गरिएको छ।
आकस्मिक शैक्षिक योजना २०७७ मा उल्लेखित प्रावधानबमोजिम सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुका लागि यस समूहमा आबद्ध हुन लाग्ने रकम स्थानीय निकायले व्यहोर्ने भएकाले योजनामा सामेल हुनुअघि स्थानीय निकायको सिफारिश लिनुपर्दछ । यसका अलावा सार्वजनिक विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी र सञ्चालक समितिका सदस्यहरुले चाहेमा आकस्मिक शैक्षिक योजना २०७७ वाहेक पनि विद्यालयको सिफारिसमा एकमुष्ट प्रति सदस्य ९९ रुपैयाँ मात्र (सरकारी कर र स्वामित्व करवाहेक) प्रति महिनाका दरले नेपाल टेलिकमको काउन्टरमा रकम भुक्तानी गरी पाठशाला सियुजी सेवा प्राप्त गर्न सक्नेछन् ।जसका लागि स्थानीय तहको सिफारिस आवश्यक पर्नेछैन।
अफरको अवधि समाप्ति पश्चात् यो अफरका लागि प्राप्त मोबाइल साधारण प्रयोगकर्तासरह नै निरन्तर प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।


















