एजेन्सी । लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ ।बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्य मन्त्री हमाद हसनले बताएका छन् । उनले बेलायतबाट लेबनानको राजधानी बेरुतमा आएका एकजना नागरिकमा कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको जानकारी शुक्रबार दिनुभएको बताइएको छ । गएको सोमबार जहाजबाट लेबनान आएका ती नागरिकमा यो संक्रमण भेटिएको थियो ।
त्यसपछि सो जहाजमा आएका सबैजना यात्रुहरुलाई सतर्क रहनका साथै अन्य सुरक्षित मापदण्डहरु अपनाउन भनिएको पनि स्वास्थ्य मन्त्री हसनले जानकारी दिएका हुन् । ती संक्रमित भेटिएपछि लेबनानको सरकारले बाहिरबाट आउने उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । स्वास्थ्य मन्त्री हसनले सो कुरा ट्वीटमा जानकारी दिएका छन् ।
केही समयअघि मात्र बेलायतमा देखिएको कोरोनाभाइरसको नयाँ संक्रमण अर्थात् प्रकार युरोपका विभिन्न देशमा पनि देखिएको छ ।यो संक्रमण फ्रान्समा पनि पहिलो पटक देखा परेको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रान्सेली पुरुषमा उक्त भाइरस पाइएको छ ।


















