बारम्बार बजिरहेछ खतराको घण्टी

1

सबि भट्टराई
नेपालमा सडक दुर्घटना अब आकस्मिक घटना मात्र रहेनन्, नियमितजस्तै बनिसकेका छन् । अझ चाडपर्वका बेला हुने दुर्घटनाले त हरेक वर्ष नेपाली समाजलाई स्तब्ध बनाउने गरेका छन् । सडकमा गुडिरहेको एउटा सवारीसाधन दुर्घटनामा पर्दा एकैपटक दर्जनौं परिवार उजाडिन्छन् । गाउँबस्ती शोकमा डुब्छन् । तर केही दिनको चर्चा र सरकारी प्रतिबद्धतापछि ती घटना बिस्तारै सार्वजनिक स्मृतिबाट हराउँछन् । अर्को दुर्घटना नहुँदासम्म सडक सुरक्षाको विषय प्राथमिकतामा पर्दैन ।
मकवानपुरको भीमफेदीमा भएको ईभी माइक्रोबस दुर्घटना यसको पछिल्लो उदाहरण हो । गत कात्तिक २६ गते बिहान काठमाडौंबाट सर्लाहीको मलंगवातर्फ जाँदै गरेको ईभी माइक्रोबस दुर्घटनामा पर्दा १४ जनाले ज्यान गुमाए । छ जना घाइते भए । उनीहरु छठ पर्व मनाउन घर फर्किरहेका थिए । दुर्घटनापछि बनेको छानबिन समितिको प्रतिवेदनले सार्वजनिक गरेको विवरण झन् डरलाग्दो छ । प्रतिवेदनअनुसार ११ जना (चालकसहित) बोक्ने अनुमति पाएको उक्त सवारीसाधनमा चालकसहित २० जना सवार थिए । अर्थात् क्षमताभन्दा नौ जना बढी यात्रु राखिएको थियो । त्यति मात्र होइन, चालकले पर्याप्त आराम नगरी लगातार लामो समय सवारी चलाएको देखिएको छ ।
प्रतिवेदनअनुसार चालकले अघिल्लो दिन काठमाडौं–मलंगवा रुटमा पटकपटक सवारी चलाएका थिए । दुर्घटनाअघि पनि उनी राति करिब १ बजे काठमाडौं आइपुगेका थिए र एक घण्टामै यात्रु लिएर पुनः मलंगवातर्फ लागेका थिए । यसले दुर्घटनामा चालकको थकान र क्षमताभन्दा बढी यात्रु राखिएको अवस्थाले जोखिम बढाएको देखाउँछ । यद्यपि समितिले यीमध्ये कुनै एउटा कारणलाई दुर्घटनाको निर्णायक कारण भने पुष्टि गरेको छैन । सवारीसाधनको प्राविधिक अवस्था, सडकको भौगोलिक बनोट र नियमनकारी निकायको भूमिकाबारे थप प्राविधिक तथा कानुनी अनुसन्धान आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ । यसको अर्थ दुर्घटनाको वास्तविक कारण र जिम्मेवारी अझै पूर्ण रूपमा स्थापित भइसकेको छैन ।
तर प्रश्न यति मात्र होइन, यस्ता दुर्घटना किन दोहोरिइरहेका छन् ? नेपालमा ठूला सडक दुर्घटना भएपछि छानबिन समिति गठन गर्नु सरकारी नियमित प्रक्रिया जस्तै बनेको छ । समितिले प्रतिवेदन दिन्छ । प्रतिवेदनमा चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु, तीव्र गति, लामो समयसम्म आराम नगरी सवारी चलाउनु, सडकको खराब अवस्था र कमजोर नियमनजस्ता कारण उल्लेख हुन्छन् । दुर्घटना रोक्न टाइम कार्ड प्रणाली प्रभावकारी बनाउने, यात्रुको संख्या जाँच गर्ने, सवारीसाधनको प्राविधिक परीक्षण गर्ने र जोखिमपूर्ण सडक सुधार गर्ने सुझाव पनि आउँछन् । तर ती सुझाव कार्यान्वयन गर्ने चरणमा भने राज्यको सक्रियता कमजोर देखिन्छ ।
गत फागुनमा धादिङको बेनीघाट रोराङमा पोखराबाट काठमाडौं आइरहेको बस दुर्घटनामा पर्दा १९ जनाले ज्यान गुमाएका थिए । त्यसको अनुसन्धानले चालकको थकानलाई दुर्घटनाको प्रमुख कारण मानेको थियो । यसअघि पनि चालकले लामो समय आराम नगरी सवारी चलाउँदा भएका दुर्घटनामा धेरैले ज्यान गुमाएका छन् । भीमफेदीको दुर्घटनाले पनि त्यही समस्यालाई फेरि सतहमा ल्याएको छ ।
नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५÷७६ देखि आर्थिक वर्ष २०८३÷८४ को मध्यसम्म देशभर १ लाख ८७ हजार ९४९ सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा २१ हजार ३१ जनाको मृत्यु भएको छ भने ५१ हजार ४९ जना गम्भीर घाइते भएका छन् । यो अवधिमा सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या सामान्य होइन । औसतमा हेर्दा प्रत्येक वर्ष दुई हजारभन्दा बढी नागरिकले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् । आर्थिक वर्ष २०८२÷८३ मा मात्रै देशभर २९ हजार ९८८ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा २ हजार ७०७ जनाको मृत्यु भएको थियो भने ७ हजार ८०४ जना गम्भीर घाइते भएका थिए । अर्थात् एक वर्षमा औसत दैनिक सात जनाले सडक दुर्घटनामा ज्यान गुमाए । यो तथ्यांकले सडक दुर्घटनालाई व्यक्तिगत लापरबाही वा नियतिको विषय मात्र मानेर पन्छिन नसकिने देखाउँछ ।
चालकलाई निश्चित दूरी पार गर्न निश्चित समय दिने टाइम कार्ड प्रणाली लामो समयदेखि दुर्घटना न्यूनीकरणको उपायका रूपमा चर्चामा छ । तर टाइम कार्ड लागू गर्नु मात्र पर्याप्त हुँदैन । चालकले कति घण्टा सवारी चलायो, बीचमा कति आराम ग¥यो, एउटा रुटमा कति पटक ओहोरदोहोर ग¥यो र सवारीसाधनको अवस्था कस्तो छ भन्ने विषय पनि निगरानीमा हुनुपर्छ । भीमफेदी दुर्घटनाको छानबिन समितिले पनि विद्यमान टाइम कार्ड प्रणालीले चालकको काम गर्ने समय, सवारीको गति, यात्रु क्षमता र प्राविधिक अवस्थाको समग्र निगरानी गर्न नसक्ने औंल्याएको छ । त्यसैले प्रविधिमा आधारित एकीकृत यातायात निगरानी प्रणाली विकास गर्नुपर्ने सुझाव दिएको छ ।
त्यसैगरी क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्तिलाई सामान्य मान्ने छुट अब दिनु हुँदैन । सवारीसाधनको स्वीकृत क्षमताभन्दा बढी यात्रु राख्ने चालकलाई मात्र कारबाही गरेर पुग्दैन । त्यसका लागि दबाब दिने सवारीधनी, यातायात कम्पनी र नियमनमा चुकेका निकायको जिम्मेवारी पनि खोजिनुपर्छ । यात्रु संख्या जाँच्ने प्रभावकारी व्यवस्था र नियमित अनुगमनबिना नियम कागजमै सीमित हुन्छन् ।
भीमफेदी दुर्घटना एउटा सवारीसाधन दुर्घटनामा परेको घटना मात्र होइन, नेपालको सडक सुरक्षा व्यवस्थामाथि बजेको गम्भीर खतराको घण्टी हो । यो घण्टी वर्षौंदेखि बजिरहेको छ । दुर्भाग्य, राज्यका जिम्मेवार निकायले अझै त्यसको आवाज सुनेको अनुभूति नागरिकले गर्न पाएका छैनन् । जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here