काठमाण्डौ – बिप्लव नेतृत्वको नेकपा लगायत ४ पार्टी वर्तमान ब्यवस्थाका बिरुद्ध रणनैतिक मोर्चा बनाएर संघर्ष गर्ने कुरामा सहमत भएका छन् । यस्तो जानकारी सहित आज पुष १४ गते मंगलबार जारी गरिएको प्रेस बिज्ञप्तिमा विप्लव, मोहन बैद्य `किरण´, ऋषि कट्टेल र आहुतीको दस्तखत रहेको छ ।
बिज्ञप्तिमा भनिएको छ – `संविधानसभाले निर्माण गरेको भनिएको वर्तमान संविधानले दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको स्थापना गरेसँगै नेपाली जनता र राष्ट्रमाथि नयाँ तरिकाबाट एकपछि अर्को तीव्र शोषण, दमन र उत्पीडन गर्दै आएको छ । कथित नयाँ संविधानअनुसार भएको चुनावबाट खड्गप्रसाद वलीको नेतृत्वमा बनेको सरकारले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकामाथि झनै सङ्कट थोपर्दै आएको छ । वर्तमान सत्ता, व्यवस्था र सरकारले गर्दै आएका जनघात, राष्ट्रघात र चरम भ्रष्टाचारी कदमहरूको हामीले विरोध र प्रतिवाद गर्दै आएका छौँ । त्यही क्रममा संसदीय राजनीतिले मान्दै आएको दुईतिहाइ बहुमत रहेको भनिएको कम्युनिस्टको खोल ओढेको केपी सरकारले पुस ५ गते संसद् विघटन गरेको छ । पछिल्ला घटनाहरूप्रति हामी तपसिलका पार्टीहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।
१. वर्तमान दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र नेपाली श्रमजीवी जनताबीचको अन्तरविरोध चर्किंदै गएको छ । दलाल तथा प्रतिक्रियावादी पुँजीवादका विभिन्न गुटहरूका बीचमा पनि अन्तरविरोध चर्कंदै गएको छ । दलाल तथा प्रतिक्रियावादी सत्ता, व्यवस्था र सरकारमा आएको गम्भीर सङ्कटलाई फासिवादी तरिकाले हल गर्ने दुष्प्रयासस्वरूप तथा वैदेशिक शक्तिको आड, भरोसा र इसारामा केपी सरकारले संसद् विघटन गरेको हो भन्ने हाम्रो ठम्याइ रहेको छ ।
२. केपी वलीको कदम निरङ्कुश एवम् फासिवादी केपी सरकार र उनको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको असफलताको द्योतक हो ।
३. अहिले देश र जनताले भोगेका समस्याहरूको वास्तविक जनपक्षीय समाधान संसद् पुनस्र्थापना वा मध्यावधि निर्वाचन वा यसै व्यवस्थाभित्र सरकार परिवर्तन मात्र गरेर हुन सक्दैन । यसका लागि दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताको अन्त्य र सङ्घीय जनगणतन्त्र÷वैज्ञानिक समाजवादको स्थापना हुनुपर्छ ।
४. केपी वली सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिनेछ ।´
बिज्ञप्ति यसप्रकार छ –


















