क्षणिक स्वार्थका लागि झुठा प्रचारमा नलाग्न पार्टीका नेताकार्यकर्तालाई आग्रह

68

काठमाडौँ- नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले क्षणिक स्वार्थका लागि अनर्गल गालिगलौज एवम् झुठा प्रचारमा नलाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। बिहीबार फेसबुकमा लेख्दै श्रेष्ठले कम्युनिस्ट राजनीति विचार, सिद्धान्त, मूल्यमान्यतालाई आधार बनाई छलफल गर्नुपर्ने बताएका हुन्। नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली राजनीतिलाई विकृतीकरण र भ्रष्टीकरणबाट बचाउनुपर्ने श्रेष्ठको भनाइ छ।

‘पार्टीका सम्पूर्ण कमरेडहरुलाई विचार, सिद्धान्त, राजनीति, मूल्य र तथ्यमा आधारित भएर छलफल-बहस गर्न र तात्कालिक क्षणिक स्वार्थका लागि अनर्गल गालीगलौज एवं झुठा प्रचारमा लाग्नेहरु झैं प्रस्तुत नहुन अनुरोध गर्दछु,’ श्रेष्ठले भनेका छन्, ‘हाम्रा लागि देश, जनता, पार्टी र क्रान्तिको पक्षमा तथ्य र सत्यको उद्घाटन नै पर्याप्त हुनेछ। नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली राजनीतिलाई विकृतीकरण तथा भ्रष्टीकरणबाट बचाउनु पर्दछ।’

उनले प्रतिनिधिसभालाई विघटन गरेर संविधानको उल्लंघन भएको समेत बताएका छन्। तर त्यसको विरुद्ध आफूहरूले संघर्ष गरिरहेको उनको भनाइ छ।‘संविधानको ठाडो उल्लंघन गरी प्रतिनिधिसभा विघटन गर्ने प्रतिगामी कदमको विरुद्ध हामी संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको पक्षमा संघर्ष गरिरहेका छौं,’ फेसबुकमा उनले लेखेका छन्।

‘प्रतिनिधिसभा विघटन गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा )लाई कमजोर पार्ने तथा नेपाली कम्युनिस्ट आन्दोलनलाई विसर्जन गर्ने उदेश्यका साथ गुटगत कदमलाई उत्कर्षमा पुर्‍याइयो,’ श्रेष्ठले लेखेका छन्, ‘हामी त्यसप्रकारको विसर्जनवादी प्रवृत्तिका विरुद्ध पार्टी तथा नेपाली कम्युनिस्ट आन्दोलनको पक्षमा संघर्ष गरिरहेका छौं। यतिबेला हामी मुख्यतः प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको रक्षामा नै जोड दिरहेकाछौं।’

ओली पक्ष र प्रचण्ड-नेपालपक्ष बीच आरोपप्रत्यारोप चल्न थालेपछि श्रेष्ठले स्वच्छ बहस छलफलमा सहभागी हुन फेसबुकमार्फत् आग्रह गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here