नेकपामा आस्थावान् सदस्यहरुद्वारा ‘दबाब समूह’ गठन

171

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई पक्षलाई पुनः एकीकरणका लागि दबाब दिन नेकपामा आस्थावान् सदस्यहरुले ‘दबाब समूह’ गठन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव समूहबीच एकता कायम गर्न दबाब दिने गरी ५०१ सदस्यीय दबाब समूह गठन गरिएको छ। काठमाडौंमा भएको भेलाले राम कार्की कायस्थको संयोजकत्वमा दबाब समूह गठन गरेको हो। दबाब समूहले पार्टी एकता बचाउन पार्टी कार्यालयमा धर्ना दिने बताइएको छ। साथै, दुवै तर्फका नेतृत्वलाई भेटेर एकता कायम गर्न दबाब दिने संयोजक कायस्थले बताए। दुवै गुटलाई एक गराउने उद्देश्यका साथ बनेको दबाब समूहले सार्थकता प्राप्त गर्ने उनले विश्वास व्यक्ति गरे। नेताहरुले अत्यन्तै हतार गरेकै कारण पार्टी विभाजन हुन पुगेको उनीहरुको निचोड छ।

महाधिवेशनसम्म पुगेको भए स्वतः कित्ताकाट हुने परिस्थिति हुँदाहुँदै पनि नेताहरुले हतारो गरेको कायस्थले बताए। शुक्रबार राष्ट्रियसभाको बैठकबाट बाहिरिने क्रममा नेता वामदेव गौतमले आफू नेकपा एकताको पक्षमा भएको र त्यो संभावना जीवितै रहेको बताएका थिए। दबाब समूहका संयोजक कार्कीले भने नेता वामदेवसँगको सल्लाहमा यस्तो दबाब समूह निर्माण नगरिएको तर वामदेव र आफूहरूको धारणा मिलेको बताए। दबाब समूहले छिट्टै बृहत भेला गरी दबाबका नयाँ कार्यक्रम घोषणा गर्ने बताइएको छ।

पार्टी विभाजको दिशामा जानुमा दुवै पक्षको केही न केही दोष रहेको भेलामा सहभागीहरुको मत थियो। पार्टी विभाजनले जनतामाथि धोका हुने उनीहरूको भनाइ थियो। गुटको भेलामा हजार जना हुनुभन्दा एकता दबाब भेलमा १० जना सहभागी हुनुले विशेष अर्थ राख्ने दबाब समूहका सदस्यहरुको भनाई थियो।

सचेत कार्यकर्ताले पार्टीमा कसले बढी र कसले कम गल्ती गरेका हुन् भेद छुट्टयाउन सक्नुपर्ने तथा सचेत बनाउनुपर्ने सहभागीहरुले बताए। पार्टी एकता कायम गर्न नसकिने तथा निर्वाचन आयोगले दुवै दललाई नाम र चुनाव चिन्ह प्रदान गरेको परिस्थितिमा दबाब समूहको स्वतः औचित्य सकिने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here