वाशिङटन डिसीमा कर्फ्यु, १३ प्रदर्शनकारी पक्राउ

246

वाशिङटन–अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले आक्रमण गर्नुका साथै हिंसा मच्याएपछि वाशिङटन डिसीमा कर्फ्यु लागू गरिएको छ। कर्फ्यु स्थानीय समयअनुसार बुधबार साँझ ६ बजेदेखि बिहीबार बिहानसम्म लागू गरिएको छ।  अधिकारीहरुले क्यापिटल बिल्डिङ सुरक्षित रहेको बताएका छन्।

ट्रम्प समर्थकहरुले बुधबार क्यापिटल बिल्डिङमा प्रवेश गरेर हिंसा सुरु गरेका थिए। इलेक्टोरल मतगणना गरेर जो बाइडेनको जीत औपचारिक रुपमा घोषणा गर्न संसदको बैठक बसिरहेका बेला यो हिंसा भएको हो। संसदमा बहस चलिरहेका बेला अचानक ट्रम्पसमर्थक भवनभित्र प्रवेश गरेका थिए। सोहीकारण बहस रोकिएको थियो।

ट्रम्प समर्थकहरुले निर्वाचन रद्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडपसमेत भएको थियो। अवस्था नियन्त्रणबाहिर गएपछि नेशनल गार्डलाई परिचालित गरिएको थियो।  प्रहरीले १३ प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने ५ वटा बन्दुक बरामद गरेको छ।   यो विद्रोह हो : बाइडेन राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले यसलाई विद्रोह भनेका छन्। डेलावरबाट देशलाई सम्बोधन गर्दै उनले ट्रम्पसमर्थकलाई पछि हट्न र प्रजातान्त्रिक प्रक्रियालाई अगाडि बढाउन दिन आग्रह गरेका छन्। उनले भनेका छन्, ‘यो कुनै विरोध होइन, विद्रोह हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here