पोखरा-नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते हुने भएको छ। ४२.१९५ किलोमिटरको म्याराथनसँगै यो सस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने भएको छ।
कोभिड १९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिलारपुरुष, ५ किलोमिटर छात्ररछात्रा तथा दृष्टि विहिनहरुको दौड र अपाङ्गहरुको ह्विल चियर दौडभने फरक-फरका मितिमा आयोजना हुने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिएका छन। मञ्चले आगामी दिनमा आफ्ना भावी योजनाका साथ अघि वढेको बताउँदै उनले म्याराथन सँगै सामाजिक क्षेत्रमा समेत आफ्ना भावी कार्यक्रमहरु तय गरेको बताए।
पोखरा म्यारथन अन्तर्गत हुने दृष्टि विहिनहरुको दौड तथा अपाङ्गहरुको ह्विल चियर दौड फागुन २२ गते, १० किमी महिलारपुरुष दौड चैत १४ गते र ५ किलोमिटर छात्र–छात्रा दौड वैशाख ४ गते आयोजना हुने मञ्चले जनाएको छ। प्रतियोगिता अन्तर्गत ४२.१९५ किमी म्याराथन तर्फ प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश नगद २ लाख, १ लाख, ७५ र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै महिला हाफ म्याराथनमा प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमश नगद रु १ लाख, ७५ हजार, ५० र १५ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चका महासचिव खेम गुरुङले जानकारी दिएका छन्।
त्यस्तै ह्विल चियर महिला/पुरुष तथा दृष्टिविहिन महिला/पुरुष दौडतर्फ प्रथम, द्वितिय, र तृतिय स्थान हासिल गर्ने खेलाडी क्रमश नगद ७, ५ र ३ हजार प्राप्त गर्ने छन भने १० किलोमिटर महिलारपुरुष तर्फ विजेत खेलाडीले क्रमश नगद रु १५, १० र ५ हजार तथा ५ किलोमिटर छात्र/छात्राको दौडमा विजेता खेलाडीले नगद १०, ७ र ४ हजार रुपैयाँ प्राप्त गर्ने मञ्चले जनाएको छ।
पोखरा म्याराथन पोखरा रंगशालाबाट शुरु भएर पोखरा महानगरका १७ वटा वडाहरुका सडक मार्ग हुँदै पुनः पोखरा रंगशालामा पुगेर समापन हुने मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाटले जानकारी दिएका छन्। कोभिडका कारण यो वर्ष भने पोखरा म्याराथनको लोकप्रिय रहेको ‘रन फर फन’ नहुने भएको तर सवै पोखरेलीहरुलाई आफ्नो परम्परागत भेषभूषा तथा बाजा गाजा सहित खेलाडीलाई घर आङ्गन र चोकहरुमा उभिएर स्वागत गर्न उनले आग्रह गरेका छन्।


















