‘नेपाली चलचित्र जगतको इतिहासलाई पचास मात्र मान्न हुँदैन’

92
काठमाडाैं – स्वदेशी लगानीमा निर्माण भएर २०२२ सालमा रिलिज भएको फिल्म ‘आमा’ लाई पहिलो नेपाली फिल्म मानिन्छ । यो फिल्मको निर्माण कार्य थालिएको २०२१ सालदेखि गणना गर्ने हो भने नेपाली फिल्म क्षेत्रले  पचास  वर्षभन्दा लामो यात्रा पार गरिसकेको छ । तर, कलाकार दीपकराज गिरीले एकाध बनेका फिल्मलाई गनेर नेपाली चलचित्र  क्षेत्रको इतिहासलाई ५० वर्ष मान्न नहुने जनाएका छन् ।
मंगलवार चलचित्र पत्रकार संघ कास्की शाखाले पर्यटकीय नगरी कास्कीको घान्द्रुक गाउँमा आयोजना गरेको ‘सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ विषयक छलफल कार्यक्रममा कलाकार गिरीले प्रजातन्त्रको पुर्नस्थापनापछि नेपाली फिल्मको उत्थान भएको बताए । नेपाली फिल्म क्षेत्रले ३० वर्षको मात्र यात्रा पार गरेको उनको भनाई छ ।
‘सिनेमा साहित्य : सम्बन्ध र साझेदारी’ विषयमाथिको छलफलमा उनले भने- ‘उपन्यासमा डायलगभन्दा विवरण धेरै हुन्छ । फिल्ममा दृश्य भाषामा बोल्नु पर्छ, त्यसमा पनि सीमितता छ । अर्को बजेटले पनि प्रभाव पार्छ । मार्केटले भन्छ, दुई करोडभन्दा बढी लगानी गरे डुबिन्छ । तर, एउटा द्वन्दको सिन देखाउन होलीको सिनका लागि पाँच सय मान्छे जम्मा पार्न बजेटले थेग्दैन ।’
निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले सहजकर्ताको भूमिका निर्वाह गरेको कार्यक्रममा कलाकार गिरीले साहित्य (पुस्तक) माथि पर्याप्त मात्रामा फिल्म निर्माण हुन नसक्नुको कारण फिल्मकर्मी दर्शकसँग डराएको बताए । उनले अगाडि भने- ‘लेखिने र बोलिने कुरामा धेरै फरक हुन्छ । जटिलता हुने कारणले गर्दा पनि नेपालमा साहित्यमाथि आधारित भएर खासै फिल्म बनेका छैनन् ।’
उक्त कार्यक्रममा वक्ताको रुपमा उपस्थित कवि भूषिता वशिष्ठले फिल्मको संवादमा मौलिकता हुनुपर्ने बताइन् । फिल्मकर्मी साहित्यकारहरुसँग डराउन नहुने पनि उनको भनाई छ । त्यस्तै, लेखक गनेस पौडेलले पञ्चायती व्यवस्थाको ह्याङओभरबाट अझै नेपाली फिल्म मुक्त हुन नसकेको बताए । आफ्नो परम्परा र संस्कृतिलाई घुसाएर फिल्ममा देखाउन सकिने उनको कथन छ ।
कार्यक्रमलाई समापन गर्दै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले कोरोनाका कारण भएको लामो बन्दाबन्दी पश्चात खुलेको पर्यटन र फिल्म क्षेत्रको प्रचार-प्रसारका लागि आफूहरुले उक्त कार्यक्रमको आयोजना गरेको बताए । छोटो समयको तयारीमा गरिएको ‘सिनेमा संवाद एट घान्द्रुक’ ले पर्यटन र फिल्म क्षेत्रको विकासमा पूलको काम गर्नेमा उनले विश्वास व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here