आमहड्तालमा उत्रिएका ११२ जना पक्राउ

200

आमहड्तालको नाममा तोडफोडमा उत्रिएका ११२ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी वसन्त कुवँरले जानकारी दिए । उनका अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरबाट मात्रै ७६ जनालाई नियन्त्रणमा लिइएको छ।

कलंकीबाट प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीसहित दर्जनभन्दा बढी कार्यकर्तालाई महानगरीय प्रहरी शिक्षालय महाराजञ्जमा राखिएको छ।

काठमाडौं उपत्यका भित्रिने मुख्य नाकाहरुमा भने बन्दको प्रभाव बढी रहेको छ। मुख्य नाका छिर्ने ठाउँमा ठूलो संख्यामा प्रचण्ड–नेपाल पक्षका नेता कार्यकर्ताको उपस्थित रहेको छ। उनीहरूले उपत्यका भित्रने सवारी साधनहरूलाई कडाइ गरेका छन्। उपत्यका बाहिर पनि आमहड्तालको प्रभाव परेको छ। छिटपुट बाहेक गाडीहरू नचलेको प्रहरीले जनाएको छ।

संसदीय सुनुवाइ बिना नै विभिन्न संवैधानिक निकायमा ३२ जना पदाधिकारी बुधबार नियुक्त गरेपछि थप ओक्रोशित भएको प्रचण्ड–नेपाल पक्षले बुधबार साँझ राँके जुलुस र बिहीबार आमहड्ताल घोषणा गरेको थियो। आमहड्तालमा हुनसक्ने तोडफोड र झडपलाई मध्यनजर गर्दै उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ। यति हुँदाहुँदै पनि बिहानै सामाखुसीमा बन्दकर्ताले एउटा ट्याक्सी समेत आगजनी गरेका थिए। यो बाहेक अन्य पाँच वटा गाडीमा समेत तोडफोड भएको प्रहरी प्रवक्ता कुवँरले बताए।

यता, केपी शर्मा ओली पक्षले शुक्रबार नारायणहिटी अगाडिको सडकमा शक्तिप्रर्दशन गर्ने तयारी गरेको छ। सोही अनरुप उपत्यका बाहिरबाट बिहीबार ठूलो संख्यामा कार्यकर्ता उतार्ने ओली पक्षले जनाएको छ। प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्तालकैबीच ओली पक्षले काठमाडौं उपत्यकामा कार्यकर्ता उतार्ने भएपछि झडपको स्थिति हुनसक्ने विश्लेषण गरिएको छ।

गृहमन्त्री रामबहादुर थापा (बादल)ले शुक्रबार हुने शक्ति प्रदर्शनमा जसरी पनि काठमाडौं मान्छे आउने वातावरण मिलाउने प्रहरी नेतृत्वलाई निर्देशन दिइसकेका छन्। मन्त्रीको निर्देशनपछि प्रहरीले प्रदर्शनमा आउनेका लागि स्कर्टिङसम्मको व्यवस्था मिलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here