कम्युनिस्टसँग कदापी सहकार्य हुन नसक्ने

190

काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कम्युनिस्ट पार्टीसँग कदापी सहकार्य र समझदारी हुन नसक्ने जनाएका  छन् ।

‘पञ्चायतको गर्भबाट जन्मेको, पञ्चायतको जुठोबाट जन्मेको कम्युनिस्ट पार्टीसँग नेपाली कांग्रेसको कदापी सहकार्य हुन सक्दैन,’ अध्यक्ष बस्नेतले भने । उनले यो धारणा सोमबार ललितपुरको लगनखेलमा आयोजित विरोधसभामा राखेका हुन् ।

‘बन्दुक लिएको जंगलको कम्युनिस्ट किन नहोस्, त्यो सडकको चिसो छिँडीमा बस्ने कम्युनिस्ट किन नहोस्, सत्तामा बसेको कम्युनिस्ट किन नहोस् कसैसँग हाम्रो सहकार्य र समझदारी हुँदैन,’ उनले भने, ‘अन्याय र अत्याचार, भ्रष्टाचार, विकृति लिएर हिँडेको कम्युनिस्ट पार्टीसँग नेपाली कांग्रेसको कतै पनि सहकार्य र समझदारी हुन सक्दैन ।’

नेकपा अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्धको आन्दोलनमा नेपाली कांग्रेससँग पनि सहकार्य हुने अभिव्यक्ति दिएका बेला कांग्रेस सभापति देउवा निकट बस्नेतको यो भनाइलाई अर्थपूर्ण मानिएको छ ।

उनले अहिले संविधान मिचियो भनेर आन्दोलन गर्ने प्रचण्ड-माधव समूहलाई सोधे, ‘चुनावमा हारेका व्यक्ति बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाँदा संविधान मिचियो कि मिचिएन ? हिजो आफू एक भएर संविधान मिच्दाचाहिँ केही नहुने ?’

उनले ताजा जनादेशका लागि जनतामा जाने कुरा प्रतिगामी नहुने बताए । यद्यपि संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत भएको भन्दै उनले संसद विघटनको विषयमा सर्वोच्चले जे निर्णय गर्छ, त्यसैलाई कांग्रेसले मान्ने जनाए ।

कांग्रेसलाई प्रचण्डले धेरैपटक धोका दिएको बताउँदै उनले भने, ‘प्रचण्डले कुम हल्लाउँदा हामीले हल्लाउनु पर्ने ? उनले सडकमा बस भन्दा हामी सडकमा बस्नुपर्ने ? जहिले पनि कांग्रेसलाई धोका मात्रै दिने प्रचण्डसँग किन कुम हल्लाउने ?’

नेपाली कांग्रेसले हरेक निर्णायक राजनीतिक आन्दोलन सफल पारेको, देशलाई गणतन्त्र र नयाँ संविधान दिएको चर्चा गर्दै उनले कम्युनिस्टहरुले देशलाई के दिए भनेर समेत प्रश्न गरे ।

तरुण दल अध्यक्ष बस्नेतले भने, ‘म कम्युनिस्टहरुलाई सोध्न चाहन्छु, तिमीहरुले के दियौ ? नेपाली कांग्रेसले सोध्न सक्नुपर्छ कम्युनिस्टहरुले आजसम्म यो देशलाई के दिएका छन् ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here