काजिअमा न्यायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट

89

काठमाडौं –  काठमाडौं जिल्ला अदालतमा न्यायाधीशकै अगाडि दुई कर्मचारीबीच कुटाकुट भएको छ।

सोमबार १४ नम्बर इजलासमा न्यायाधीश प्रकाशचन्द्र अधिकारीकै सामुन्ने वादविवाद हुँदा इजलास अधिकृत गोकर्ण शर्मा र नायब सुब्बा नेत्रप्रसाद बाँस्तोला कुटाकुटमा उत्रिएका थिए ।

श्रेस्तेदार भीमप्रसाद निरौलाका अनुसार इजलास अधिकृत शर्मा घाइते भएका छन्। उनको नाकबाट रगत बगेपछि ट्रमा सेन्टरमा जँचाउन गएका थिए। अहिले उनको अवस्था सामान्य रहेको निरौलाले जनाए । मालपोत कार्यालयलाई भएको एउटा आदेशमा सही गर्ने कुरालाई लिएर विवाद भएको थियो ।

‘आदेशमा सही गराउन लिएर जादाँ इजलास अधिकृत शर्माले व्यहोरा नमिलेको भन्दै अर्को व्यहोरा लेखेर ल्याउन भनेपछि  वादविवाद भएको रहेछ। त्यही बढ्दै गएर हात हालाहाल नै भएछ,’ उनले भने।

कार्यालयका नाममा आदेश गर्ने कि कार्यालय प्रमुखको नाममा आदेश गर्ने भन्नेमा उनीहरूको मत बाझिएको थियो। न्यायाधीशसँग यो विषयमा कुरा हुने, छानबिन गर्ने र दोषी पत्ता लगाएर कारबाही गरिने पनि श्रेस्तेदार निरौलाले जनाए।  कुटाकुटले केहीबेर इजलास प्रभावित भएकाे थियाेे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here