— राज्यलक्ष्मी शाक्य
कोभिड—१९ (कोरोना भाइरस) को प्रकोप विश्वव्यापी रुपमा पैलिएको एक वर्ष पूरा भइसकेको छ । ठीक एक वर्ष पुग्दै गर्दा विश्वव्यापी रुपमै कोरोना विरुद्धको खोप पनि विकसित भएको छ । विश्वव्यापी रुपमै कोरोनाको खोप लिने क्रम बढेको छ । नेपालमा पनि कोरोनाभाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउने अभियान सुरु भएको छ । -जनधारणा साप्ताहिकबाट
खोप लगाएकामध्ये केहीलाई सामान्य असर पनि देखा परेको चर्चा सुनिएको छ । कतिपयलाई उपचारनै गर्नु परेको छ । कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये एक जनामा गम्भीरखालको स्वास्थ्य समस्या देखिएको समाचार पनि स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश वीरेन्द्रनगरबाटै प्रचारित भयो । त्यहाँ तीन दिनको अवधिमा खोप लगाएकामध्ये २६ जनालाई सामान्य खालको स्वास्थ्य समस्या देखिएको पनि समाचार आयो । यस्तो समस्याले जनमानसमा खोपप्रति शंका पैदा हुनु स्वाभाविक हुन्छ ।
त्यसैगरी, काठमाडौंको टेकू अस्पतालमा पहिलो दिन खोप लगाएकामध्ये २९ स्वास्थ्यकर्मीसँग सोधपुछ गर्दा २३ जनामा सामान्य खालको स्वास्थ्य समस्या देखिएको पनि जानकारी बाहिर आएको छ । उता त्रिवि शिक्षण अस्पतालमा एकजना स्वास्थ्यकर्मीलाई खोप लगाउनेबित्तिकै अनुहारमा डाबर आएको चर्चा सुनियो । यस्ता घटनाहरुले कोरोना भाइरस विरुद्धको खोप विश्वसनीय छैन भन्ने विश्व स्वास्थ्य सँगठनको भनाईले थप पुष्टि पाएको छ ।
केही स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरसको खोपपछि सामान्य समस्या देखिए पनि केहीमा गम्भीर समस्या देखा परेको हुँदा खोपप्रतिको भरोसा गर्ने ठाउँ देखिदैन । कोरोनाविरुद्धको खोप लगाइसकेपछि देखिने सामान्य समस्या भनेको डाबर आउने, रिंगटा लाग्ने, वाकवाकी आउने, टाउको दुख्ने, कमजोर भएको महसुस हुने, खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने आदि रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका प्रदेश वीरेन्द्रनगरका निर्देशक डा. रोबिन खड्काले सार्वजनिक गरेका छन् ।
उनको भनाईलाई मात्र आधार बनाएर हेर्ने हो भने कोरोना विरुद्धको खोपले स्वास्थ्यमा समस्या सृजना गरेको पृष्टि हुन्छ । स्वास्थ्यमा समस्या हुने खोप किन लगाउने ? आम सर्वसाधारणमा यो प्रश्न उठ्नु स्वाभाविक हो । खोप लगाएर सामान्य लक्षण देखिएमा आत्तिनु नपर्ने भनेर जतिसुकै प्रचार गरिए पनि सामान्य समस्या नै समस्याको जड हो भन्ने कुरा स्पष्ट हुन्छ । म पंक्तिकार स्वंयम् पनि शरीरमा समस्या हुन्छ भने किन खोप लगाउने भनेर दुविधामा परेकी छु । कोरोनाको खोप सर्वप्रथम देशका नेताहरुले किन नलगाउने ? स्वास्थ्यकर्मीहरुबाट यसको शुरुवात किन गरियो ? यसैले पनि खोपप्रतिको विश्वसनीयतामा शंका उत्पन्न गराएको छ ।
कुनै पनि खोप लगाउँदा सामान्य खालका समस्या देखिने गर्दछन् तर कोरोनाको महामारीले सृजना गरेको त्रास र यसका विरुद्धको खोपको नाउमा शुरु गरिएको शंकास्पद अभियानले जनमानसमा आतंक पनि सृजना गरेको छ ।
यस अघि बच्चाहरुलाई टिटानस, लहरेखोकी, भ्यागुते रोगको खोप आदि लगाउँदा पनि सामान्य स्वास्थ्य समस्या देखिने गरेका थिए भनेर कोरोनाको खोपप्रतिको विश्वास बढाउने आधारका रुपमा तर्क गर्ने गरिएको छ । तर यस्ता तर्कलाई मान्न जनता तयार देखिदैनन् । त्यसैले नेपाल जस्तो देशमा कोरोनाको खोप नै विकास गर्न सकिने र त्यो खोपले स्वास्थ्यमा कुनै किसिमको समस्या पनि नआउने दावी केही आयुर्वेद चिकित्सकहरुले गर्दै आएका थिए, त्यसतर्प सरकारले ध्यान दिने र नेपालमै खोपको विकास गर्ने तर्प ध्यान दिन सकियो भने नेपाल विश्वमै चर्चाको शिखरमा पुग्ने विश्वास गर्न सकिन्छ ।
















