आगामी चैतमा महिला क्रिकेट प्रतियोगिता

66

 काठमाडौं । आगामी चैतमा महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अर्को महिला महिलाको टी-२० प्रतियाेगिता आयोजना गर्न लागेको हो ।

क्यानले गत पुसमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अनुसार दाङमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट आयोजना गरेको थियो । जसमा प्रदेश १ ले विभागीय टोली एपीएफको वर्चस्व तोड्दै उपाधि जितेको थियो । क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा यही फागुन २२ देखि ९ गतेसम्म टी-यू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा पुरुषको मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । जसमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल पुगेका चार टिम र काठमाडौं महानगरपलिकाको एक टिम गरी ५ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषको मेयर कप सकिएपछि क्यानले महिलाको पनि त्यस्तै खालको प्रतियोगिता गर्ने तयारी गरेको हो ।

‘पुरुषमा जस्तै महिलाको पनि अब एउटा प्रतियोगिता हुनेछ । चैतमा आयोजना गर्नेगरी हामी तयारी गर्दैछौँ । अन्तिम निर्णय हुन बाँकी छ,’ क्यान स्रोतले जनायाे । स्रोतका अनुसार महिला प्रतियोगिता ५ टिमले प्रतिस्पर्धा गर्नेछन् र टी-२० फर्म्याटमा खेल खेलाइनेछ ।

२२ गतेदेखि सुरु हुने पुरुष मेयर कपकै बेला महिला प्रतियोगिताको बारेमा थप जानकारी सार्वजनिक हुनेछ ।

नेपालको महिला टिमले आगामी सेप्टेम्बरमा टी-२० विश्वकपको एसियाली छनोट खेल्ने तालिका छ । मलेसियामा हुने भनिएको उक्त छनोटमा नेपालसहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । यद्यपि उक्त छनोट प्रतियोगिता सर्न सक्ने सम्भावनासमेत रहेको छ ।

त्यसबाहेक नेपालको महिला टिमले तत्काल खेल्ने अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता छैन । यद्यपि क्यानले नेपालको महिला टिमलाई भारतको उत्तराखण्डमा खेलाउने पहल गरिरहेको छ ।

चैतमा प्रतियोगिता भएपछि त्यहाँबाट टिम छनोट गरेर भारतको उत्तराखण्डमा खेल्न पठाइने स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here