फागुन २७ बाट ‘गोर्खा वारियर–२’ चलचित्रको छायांकन सुरु

187

काठमाडौं – चलचित्र ‘गोर्खा वारियर–२’को निर्माण घोषणा गरिएको छ। फागुन २७ बाट चलचित्रको छायांकन सुरु गरिने निर्माता निर्देशक मिलन चाम्सले बताएका छन्।

काठमाडौंमा एक समारोहबीच साहसिक गोर्खा सैनिकप्रति बिगुल फुकेर सम्मान गर्दै चलचित्र गोर्खा वारियर–२ को निर्माण घोषणा गरिएको हो। चलचित्र गोर्खा वारियरको छायांकन गर्न केही ढिला हुने भएकाले गोर्खा वारियर–२ छायांकन थालिएको र यो चलचित्र रिलिजपछि मात्र गोर्खा वारियर बनाउने पनि निर्माता निर्देशक चाम्सले  जनाएका छन् ।

युद्धमा शहादत प्राप्त गरेका गोर्खा सैनिकप्रति फूलगुच्छा चढाएर श्रद्धासुमन अर्पण गर्दै कार्यक्रम सुरु गरिएको थियो। निर्देशक चाम्सले अहिलेसम्म गोर्खाली सेनाका बारेमा विभिन्न व्यक्तिले व्यक्त गरेका भनाइ र गोर्खा सैनिकका साहसिक कार्यबारे श्रव्य–दृश्यसहित प्रकाश पारे। गोर्खा सैनिकका नभनिएका हजारौं कथामध्ये एउटा वास्तविक कथालाई फिल्ममा उतार्न लागेको उनले जनाएका छन्।

गोर्खा वारियर चलचित्र ४ शृंखलासम्म निर्माण गर्ने उनले जानकारी गराए। चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपालीलाई गोर्खा सैनिकका रूपमा विश्वमा चिनाउने विश्वास व्यक्त गरे। यो समयमा गोर्खा सैनिकको कथामा अन्तर्राष्ट्रियस्तरमा चलचित्र बनाउनु साहसिक कार्य भएको पनि उनले जनाएका छन्।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रका निर्माता मिलन आफैं हुन्। सहनिर्मातामा सुरेश राई र पूर्ण लिम्बू छन्। चलचित्र नेपालसहित मलेसिया र बेलायतमा छायांकन गरिनेछ।

चलचित्रमा रेविका गुरुङ, विजय लामा, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, मनोज केसीको अभिनय रहनेछ। रितेस चाम्स नवनायकका रूपमा यो फिल्मबाट डेब्यु गर्दै छन्। साहसिक गोर्खाली सैनिकका बारेमा चलचित्र निर्माण हुन लागेको र आफू पनि गोर्खा सैनिकको अफिसरका रूपमा आउन पाउँदा खुसी लागेको अभिनेता विजय लामाले जनाए।

नवअभिनेता रितेस चाम्सले निकै तयारीपछि यो चलचित्रमार्फत डेब्यु गर्न लागेको बताउँदै उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धता जनाए। अभिनेत्री रेविका गुरुङले चलचित्रमा आफूलाई मिलन चाम्सले नै ल्याएको र यो फिल्मको मुख्य नायिकाको जिम्मेवारी दिँदा झनै खुसी लागेको  जनाइन्।

आगामी सन् २०२२ को सुरुमा विश्वव्यापी रिलिज गरिने भनिएको यो चलचित्रमा शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी र हिमाल केसीको द्वन्द्व निर्देशन रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here