संसदीय व्यवस्था कि वैज्ञानिक समाजावदी व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

164

काठमाडौं – नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनले चैत २९ गते राजनीतिक समस्याको समाधान : संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ? विषयक अन्तरक्रिया कार्यक्रम विभिन्न दलका नेता बुद्धिजीवी एवम् स्वतन्त्र बौद्धिक व्यक्तिहरुलाई एकठाउँमा ल्याई अन्तरक्रियात्मक बहस काठमाडौंमा सम्पन्न गरेको छ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रगतिशील लेखक अनिल शर्मा ‘विरही’, सोही पार्टीका केन्द्रीय सदस्य एवम् वार्ता कमिटीका सदस्य दिपक चलाउने, नेपाल कम्युनिस्ट पार्टीका सह-अध्यक्ष लोकनारायण सुवेदी, वामपन्थी नेता नारायण शर्मा, राष्ट्रिय बुद्धिजीवी संगठनका अध्यक्ष हुकुमबहादुर सिंह, जनअधिकार अभियान नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वामपन्थी बुद्धिजीवी प्रा.कृष्ण वेलवासे , लेखक तथा सुरक्षा मामिला विज्ञ डा. इन्द्र अधिकारी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य जागृत रायमाझी र प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदार नरसिंह के.सी. सबै वक्ताका रुपमा अतिथि रहेका थिए।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लेखक अनिल शर्माले आफ्नो मन्तव्य राख्दै भन्नुभयो, आजको समस्या व्यक्तिको भन्दा सिस्टमको हो । दलाल पुँजीवादको नेतृत्वमा आज सत्ता छ । उनीहरुले त्यो सत्ता छोइन चाहदैनन् । हामीलाई राष्ट्रपति पद बाहेक सबै दिन्छौं तर संविधान र संसदीय प्रणालीभित्र छिर्न पर्यो भनेर आग्रह गरेका थिए । तर हामीले त्यो कुरा स्वीकारेनौं।’ त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी तथा वार्ता टोलीका सदस्य दिपक चालउनेले पनि आफ्नो विचार राख्दै भन्नुभयो, ‘अहिलेकै गति र प्रक्रियाबाट नेपाली समाज चल्न सक्दैन ।

हामी सरकारसँग मात्रै वार्ता गर्दैनौं सबै राजनीतिक दल र शक्तिसँग वार्ता गरिरहेका छौं । हामीलाई अग्रगमनको खाका आवश्यक छ । अहिलेको राजनीतिक असफलता भनेको पुँजीवादी ब्यवस्थाको हो । हामी परिस्थितिजन्य अवस्था र जनताको अभिलाषाको कारणबाट सरकारसँग वार्ता गरी बाहिर आएका छौं । हामी अनुचित सम्झौता गरेर बाहिर आएका होइनौं । अझै पनि १४८ जना हिरासतमा हाम्रा साथीहरु छन् ।

सरकार अझै पनि साथीहरुलाई रिहाई गर्न आनाकानी गरिरहेको छ । हामी जनताको मुक्ति र स्वतन्त्रताको पक्षमा छौं । राजनीतिक गाँठाहरु थुप्रै छन् । ती गाँठाहरु खोल्न इमान्दारीता चाहिन्छ । पुँजीवादी राजनीतिक व्यवस्थाले आम जनताको समस्या समाधान गर्दैन । त्यसैले हामीले पुँजीवादी संसदीय बाटोको सट्टा विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था अगाडि सारेका छौं । यो व्यवस्थाले मात्र मानव जातिको भविष्य सुनिश्चित गर्छ।’ कार्यक्रमलाई नेकपाका सह-अध्यक्ष लोकनारायण सुवेदीले अत्यन्तै प्रष्टसँग कुरा राख्दै भन्नुभयो, ‘नयाँ जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादमा जानुपर्छ । जनवादी व्यवस्थालाई फड्को मारेर वैज्ञानिक समाजवादमा पुग्न सकिंदैन ।

चार रणनीतिक मोर्चाविच घनीभूत छलफल भइरहेको छ। हामी ४ रणनीतिक मोर्चाको छलफलबाटै विप्लव नेतृत्वको नेकपा र सरकारबीच वार्ता सम्पन्न भएको हो । वहाँहरुले हाम्रो सल्लाह बमोजिम काम गरिरहनु भएको छ । अव सबै कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु एक ठाउँमा आउनुपर्छ।’ अन्तरक्रियात्मक कार्यक्रममा वामपन्थी नेता नारायण शर्माले पनि आफ्नो विचार राख्नु भएको थियो । उहाँले भन्नुभयो, औद्योगिक क्रान्ति नभई समाजवादमा पुग्न सकिंदैन । माक्र्सवादको हुबहु नक्कल गर्नुपर्छ भन्ने छैन । हामी अझै पनि पुँजीवादी युगमा प्रवेश गरेका छैनौं । समस्त क्रान्तिविना समाजवाद आउँदैन । हामीलाई नेपाली मोडलको समाजवादी व्यवस्था आवश्यक छ।’ छलफलमा जनअधिकार अभियान नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले पनि आफ्नो विचार राख्दै भन्नुभयो, ‘अहिलेको लोकतान्त्रिक पुँजीवादी शासन व्यवस्थाले हरियो पात दिएन पहेंलो पात दियो । अहिलेको शासन व्यवस्था विचौलियाको हातमा छ ।

न्यायपालिका समेत सरकारको प्रभावमा छ । मानव अधिकार आयोगको कुराहरु सरकार मान्दैन । हाम्रो अर्थप्रणाली समेत गलत छ।’

 उक्त कार्यक्रमलाई राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संगठन, नेपालका अध्यक्ष हुकुमबहादुर सिंहले पनि आफ्नो विचार राख्दै भन्नुभयो, पुजीवादको विकल्प हो वैज्ञानिक समाजबाद । अहिले विश्वभर नै पुँजीवादको संकट छ। यो क्रान्तिकारीहरुका लागि राम्रो अवसर हो ।’ कार्यक्रमलाई लेखक तथा सुरक्षा मामिला विज्ञ डा. इन्द्र अधिकारीले पनि आफ्नो मन्तव्य राख्नुभयो । उहाँले भन्नुभयो, ‘वैज्ञानिक समाजवाद अत्यन्त राम्रो व्यवस्था हो । तर अहिले नै यो लागु गर्ने हैसियतमा छैन । कुनै पनि सिद्धान्त प्रणाली आफै चल्दैन, असल व्यक्ति आवश्यक पर्छ व्यवस्थालाई चलाउँन । विचारधाराले मात्रै मुलुकको परिवर्तन हुँदैन । हामीमा राजनीतिक शिक्षा र नैतिकताको अभाव छ ।’ कार्यक्रममा वामपन्थी बुद्धिजीवी प्रा. कृष्ण वेलवासेले आफ्नो विचार राख्दै भन्नुभयो, ‘अहिलेको व्यवस्था संसदीय व्यवस्था होइन । यो ठिमाहा व्यवस्था हो । अहिलेको व्यवस्थामा सामन्तवादी चरित्र छ । अहिलेको व्यवस्थाले श्रमलाई विस्थापित गरेको छ । कुनै पनि व्यवस्थालाई बदल्नु छ भने पहिला आफू बदलिनुपर्छ ।

उक्त कार्यक्रमलाई प्रजातान्त्रिक विचार समाजका अध्यक्ष वरिष्ठ चिकितसक डा. केदार नरसिंह के.सी. ले आफ्नो भनाई राख्दै भन्नुभयो, ‘मुलुककमा लोकतान्त्रिक आचरणको संस्कार हुन सकेन । हामी जुन परिवेशबाट आयौँ त्यहि सहि ठान्यौं । बुद्धिजीवीहरुले समेत के गलत के सहि भन्ने विचार गर्न सकेका छैनन् । मुलुकमा अहिले पहिलेको भन्दा १० गुणा भ्रष्टाचार बढेको छ।’ कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य जागृत रायमाझीले आफ्नो विचार राख्दै भन्नुभयो, ‘वैज्ञानिक समाजवादको आवश्यक तत्वहरु के के हुन् ? वैज्ञानिक समाजवादमा उत्पादक शक्ति को हुन्छ ? प्रचुर उत्पादन विना वैज्ञानिक समाजवाद लागु हुँदैन । वैज्ञानिक समाजवाद विज्ञान र प्रवृधिमा आधारित हुनुपर्छ ।

आन्मनिर्भरता र स्वाधीनता विना वैज्ञानिक समाजवाद कठिन छ। दलाल पुँजीवादले अहिले उत्पादन गर्न दिइरहेको छैन ।’ उक्त कार्यक्रम नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका उपाध्यक्ष राजेन्द्र रेग्मीको अध्यक्षतामा भएको थियो भने नन्दलाल खरेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन संगठनका सदस्य विपिन पोखरेलले गर्नुभयो ।  उपस्थित सहभनगीहरुबाट उठेका प्रश्नहरुको जवाफ भने अनिल शर्मा र लोकनारायण सुवेदीले दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here