काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका चार जना सांसदलाई पद हटाईएकाे छ ।
सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू सांसद नभएको सूचना आजको प्रतिनिधिसभा बैठकमा सुनाएसँगै उनीहरूको पद गुमेको हो। प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराइएका हुन् ।
संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले उनीहरूलाई सांसदबाट हटाउन पठाएको पत्रमा छलफल भएको थियो।
यसअघि गत मंगलबार माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो। वि.स. २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट चुनाव जितेका उनीहरू तत्कालीन नेकपामा विवाद उत्कर्षमा पुगेका बेला ओली समूहमा लागेका थिए।

















