काठमाडाैं- सरकारले काेराेना संक्रमणकाे जाेखिम बढेसँगै रात्रिकालीन व्यवसाय र आवागमनमा कडाइ गर्ने निर्णय गरेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार एक विज्ञप्ति निकाल्दै बढ्दाे जनस्वास्थ्यका मापदण्ड उल्लंघन र संक्रमण तथा बेलायतबाट भित्रिएकाे काेराेना भाइरसकाे नयाँ भेरियन्टलाई मध्यनजर गर्दै रात्रिकालीन व्यवसाय र गतिविधिमा कडाइ गर्ने निर्णय गरेकाे जानकारी दिएकाे हाे।
संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी घरबाहिर र सार्वजनिक स्थानमा मास्कको प्रयोगलाई अनिवार्य गराउन पनि सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ। यसैगरी कोरोना संक्रमितको पहिचान गर्न कन्ट्याक्ट ट्रेसिङ बढाउन तथा ‘केस इन्भेस्टिगेसन’का लागि एन्टीजेन तथा आवश्यकताअनुसार पीसीआर परीक्षण बढाउन पनि मन्त्रालयले सम्बन्धित निकालयलाई आग्रह गरेको छ।
यसैगरी ठूला सहरहरुमा ५०० भन्दा बढी र साना सहरहरुमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवागमनमा कडाइ गरिने भएकाे छ।विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ। यस्तै बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।



















