काठमाडौं / उत्पीडित शिक्षकको न्यायमा दलाली गरेको आरोप लगाउँदै पुनरुत्थानवादी शक्ति नेपाल आवद्ध अस्थायी शिक्षकहरुले शिक्षककर्मचारीका संघ, संगठन, युनियन, महासंघ खारेज गर्ने उद्घोष गरेका छन् ।
केही दिन अघि शिक्षक महासंघ, शिक्षक सेवा आयोगलगायत माथि युद्धको घोषणा गरेको सो पार्टीले शिक्षक कर्मचारीका संघसंगठनहरुलाई अदालतबाटै खारेज गराएरै छाड्ने उद्घोष गरेको हो ।
आइतवार राजधानीमा पत्रकार सम्मेलन गर्दै पार्टीले वर्षौदेखि सेवामा रहँदै आएका अस्थायी शिक्षकहरुलाई प्रतिशतमा बाडेर परीक्षा गर्न सहमति गर्ने र हाल हजारौं अस्थायी शिक्षकको जागिर खोस्ने त्यस्ता संगठनहरु दलाल रहेका समेत आरोप लगाएको छ ।
पार्टीकी प्रमुख नेता तारा बरालले शिक्षक महासंघ खारेजीका लागि आगामी पौष २० गते सर्वोच्च अदालतमा बहस हुने र अन्य शिक्षकका संघसंगठनहरु पनि खारेज गरेर जाने जनाइन् । सरकारी सेवा सुविधा खाने शिक्षक महासंघ सरकारकै अंग भएकाले संगठन, युनियन बनाएर सरकार विरुद्ध आन्दोलन गर्न नपाउने जिकिर गर्दै बरालले शिक्षक कर्मचारीको न्यायका खातिर संगठन, युनियन खारेजीको विकल्प नरहेको दावी गरिन् ।
शिक्षकका संघसंगठन खारेजी गरेपछि आफुहरुले राजनीतिकदलहरुको खारेजीमा लाग्ने र दलवीहिन शासन व्यवस्था शुरु गर्ने बरालले स्पष्ट पारिन् ।


















