काठमाडौं । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी एउटै भए वा नभएको परीक्षण गर्ने कार्य यसअघि तोकिएभन्दा केही ढिला हुने भएको छ ।
विभागले यसअघि वैशाख १ गतेदेखि अभिमुखीकरण तालिम लिँदाको र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिएको वायोमेट्रिक एउटै नभए श्रमिकलाई फिर्ता गरिने सूचनामार्फत जानकारी गराएको थियो । विभागले विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) को स्तरोन्नति काम सकिनेबित्तिकै बायोमेट्रिकको परीक्षण सुरु हुने जनाएको छ ।
तालिम प्रदायक संस्थाले विदेश प्रस्थानपूर्व दिइने १२ घण्टे अभिमुखीकरण तालिम लिएकालाई बायोमेट्रिक लिनुुपर्ने र बायोमेट्रिक लिएको रेकर्ड विभागमा पठाउनुपर्ने व्यवस्था छ ।
तर, तालिम प्रदायक केही संस्थाले अभिमुुखीकरण तालिम नै नदिई प्रमाणपत्र दिने र घर÷घरमा पुुगेर बायोमेट्रिक लिने गरेको विभागको अनुुगमनका क्रममा पाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

















