सगरमाथाको बेसक्याम्प पुगेका दुईजनालाई काेराेना

200

काठमाडौँ/विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट स्वास्थ्यमा समस्या देखिएपछि उद्धार गरी ल्याइएका कम्तीमा दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सगरमाथासहितका हिमालमा वसन्त ऋतुको आरोहणको क्रम चलिरहेको छ।

सगरमाथा आरोहणका लागि सगरमाथाको बेसक्याम्प पुगेका मध्ये दुईजनालाई स्वास्थ्य समस्या देखिएपछि उद्धार गरी काठमाडौँको अस्पताल ल्याइएको थियो। उनीहरुमा कोरोना भाइरसको संक्रमण पनि पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्याको उपचार गर्दै आएको काठमाडौँको सिविक अस्पतालमा अहिले उपचार भइरहेका मध्ये दुईजनामा कोरोना भाइरसको संक्रमण पनि देखिएको छ। अस्पताल स्रोतले भन्यो, ‘सगरमाथाको आधार शिविर क्षेत्रबाट उद्धार गरी ल्याइएका दुईजनामा कोरोना भाइरसको संक्रमण पनि देखिएको छ। उनीहरु दुवै विदेशी नागरिक हुन्।’

उनीहरुलाई केही दिन पहिले उद्धार गरि काठमाडौँ ल्याइएको हो। सगरमाथासहितका हिमालको आरोहण अनुमित प्रदान गर्ने पर्यटन विभागले भने अहिलेसम्म सगरमाथा आरोहणका लागि अनुमति लिएर आधार शिविरसम्म पुगेका मध्ये सकैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी आफूहरुसँग नरहेको दाबी गरेको छ।

विभागकी निर्देशक मिरा आचार्यले भनिन्, ‘कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएपछि मात्रै आरोहण अनुमति प्रदान हुन्छ। अहिलेसम्म हामीले अनुमति दिएका र आधार शिविर पुगेका मध्ये कसैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी हामीलाई छैन।’

उनले भनिन्, ‘आधार शिविरबाट स्वास्थ्यमा समस्या देखिएपछि उद्धार गरिएका एक विदेशी नागरिकलाई निमोनिया भएको जानकारी डाक्टरले दिएका छन्। तर कोभिड–१९ पुष्टि भएको जानकारी हामीलाई छैन।’

विभागले संक्रमणबारे जानकारी नरहेको बताए पनि उद्धार गरि ल्याइएका बिरामीको उपचार भइरहेको काठमाडौँ स्थित अस्पतालले भने आधार शिविरबाट ल्याइएका दुई विदेशी नागरिकमा कोरोना संक्रमण पुष्टि भएको र हाल उपचार जारी रहेको जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here