राउल क्यास्ट्रोको बिदाई, अबको नेतृत्वमा डाएज:क्युवा

185

काठमाडौं/क्युवाको कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको छ।  महाधिवेशनले क्युवाका राष्ट्रपति मिगुएल डाएज कानल बर्मुडेजलाई प्रथम सचिवमा निर्वाचित गरेको छ।

महाधिवेशनले चौध सदस्यीय पोलिटब्युरो निर्वाचित गरेको छ। त्यस्तै पार्टीअन्तर्गतका विभिन्न सात केन्द्रीय विभागका प्रमुखहरू पनि निर्वाचित गरिएको छ। साथै २६ जना पार्टी केन्द्रीय सदस्यहरू निर्वाचित गरिएको छ।

महाधिवेशनबाट यसअघिका प्रथम सचिव एवं क्युवा क्रान्तिका नेता राउल क्यास्ट्रोले औपचारिक नेतृत्वदायी पदबाट बिदा भएका छन्। राउलको बिदाईसँगै क्युवाली क्रान्तिको पहिलो पुस्ता नेतृत्वबाट बिदा भएको छ। क्रान्तिको नेतृत्व गरेको पुस्तालाई ‘ऐतिहासिक पुस्ता’ भनी उच्च सम्मान गरिन्छ।

क्युवाली जनताले प्रतिक्रान्तिकारीहरूमाथि प्लाया गिरोनमा ६० वर्षअघि विजय प्राप्त गरेको दिन अप्रिल १९ को दिन महाधिवेशन समापन गरिएको थियो।

महाधिवेशनअन्तर्गत आइतबार क्युवा कम्युनिस्ट पार्टीका प्रथम सचिव राउल क्यास्ट्रो रूजले पार्टी केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा क्युवाली क्रान्तिको रक्षा र निरन्तरता, क्रान्तिलाई गतिशील बनाउने, समाजवाद निर्माण गर्ने प्रस्ट दिशानिर्देश गरेको छ।

महाधिवेशन प्रतिनिधिहरूले त्यहाँ प्रस्तुत आर्थिक र सामाजिक ढाँचाको समय सापेक्ष अवधारणा, नीति कार्यान्वयनको निर्देशिका, पार्टीको पहिलो महाधिवेशनमा पारित पार्टी सञ्चालन, वैचारिक गतिविधि, जनतासँगको सम्बन्ध आदिबारे तय गरेको दस्तावेजमा संशोधन प्रस्ताव पारित गरेका छन्। महाधिवेशनले पार्टीको केन्द्रीय समिति निर्वाचित गरेको छ।-एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here