अवैध रूपमा बाघको छाला र सालकको खपेटासहित युवा पक्राउ

86

पोखरा -कास्कीको पोखरा महानगरपालिका–३१ बनपोखरीबाट अवैध बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–४ घर भएका २८ वर्षीय सन्तोष लामिछाने रहेका छन् ।

वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपोसार तथा कारोवार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाको संयुक्त टोलीले पक्राउ गरेको हो ।

शिसुवाबाट बनपोखरीतर्फ जाँदै गरेको प्रदेश नं. ३–०२–०११ प ७८०६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा पछाडी जेब्रा झोलामा लुकाईछिपाई ल्याएको अवैध वन्यजन्तुको आखेटोपहारसहित लामिछाने पक्राउ परेको कास्कीका एसपी जीवन श्रेष्ठले जनाए ।

अनलाइन सर्भिसको काम गर्दै आएका लामिछानेको साथबाट अवैध बाघको छाला १ थान, सालकको खपेटा १ थान, वन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जा गरी अन्दाजी ३ केजी ७५० ग्राम बरामद भएको एसपी श्रेष्ठले जानकारी दिए ।

लामिछाने अवैध रुपमा बाघको छाला, सालकको खपेटा र आखेटोपहार बेच्नकै लागि काठमाडौँबाट पोखरा आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठले जानकारी दिए ।

लामिछानेलाई बरामद सामानसहित थप अनुसन्धान र आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय, कास्की पठाइएको एसपी श्रेष्ठले जनाए ।  बाघको छालाको लम्बाई ८ फिट लामो र चौडाई ३ फिट रहेको प्रहरीले जनाएको छ । यस्तै सालकको खपेटाको लम्बाई २ फिट ५ इन्च र चौडाई ११ इन्च छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here