शताब्दी पुरुष जोशीको १०२ औं जन्मोत्सवमा साहित्यकार चौधरीलाई पुरस्कृत गर्ने

200

काठमाडौं / कबि तथा साहित्यकार वसन्त चौधरीलाई नइ प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नइ ईश्वरवल्लभ अवार्ड’  प्रदान गर्ने निर्णय गरेको छ ।

नइ प्रकाशन संचालक समितिका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले यो वर्षका लागि ‘नइ ईश्वर वल्लभ अवार्ड’ चर्चित कवि चौधरीप्रति समर्पित गर्ने निर्णय गरेको हो ।

विश्व काव्य यात्रामार्फत नेपाली भाषा र साहित्यको विश्व माझ प्रवर्द्धनका लागि महत्वपूर्ण योगदान दिएका कारण चौधरीलाई प्रतिष्ठित अवार्ड प्रदान गर्ने निर्णय भएको नइ प्रकाशनले जनाएको छ । चौधरीले पाउने पुरस्कार रु. १ लाख राशिको हो ।

यसअघि नइ प्रकाशनले बैशाख ३० गते काठमाण्डौमा आयोजना गर्न लागेको नइ प्रकाशनको रजतजयन्ती तथा शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औं जन्मोत्सवको अवसरमा साहित्यकार चौधरीलाई पुरस्कृत गर्ने योजना बनाएको थियो । तर, कोभिड संक्रमणका कारण पुरस्कार वितरण गर्ने कार्यक्रम केही पछि धकेलिएको हो ।

प्रत्येक वर्ष प्रदान गरिने यो विधा तर्फको अवार्ड यसअघि जयदेव भट्टराई, प्रकट पंगेनी शिव, विश्वविमोहन श्रेष्ठ, प्रदीप नेपाल, विजय चालिसे, सञ्जय राई, कञ्चन पुडासैनीलगायतले पाइसकेका छन्। चौधरीले केही वर्षअघिदेखि सुरु गरेको विश्व काव्य यात्रा विश्वभर चर्चित भएको थियो ।

सन् २०१२ को अगस्टदेखि अमेरिकाको न्यूयोर्कबाट सुरु भएको चौधरीको विश्व काव्य यात्रा ११ वटा देशको २० वटा शहरसम्म पुगेको थियो । गत वर्ष कोरोनाको संक्रमण बढेपछि उनको काव्य यात्रा स्थगित गरिएको छ ।

चौधरी गीतकार, कवि, स्तम्भकार वा प्रबन्धकारका रुपमा नेपाली साहित्य क्षेत्रमा परिचित छन् । उनका नेपाली भाषाका आधादर्जन बढी कविता संग्रह, अन्य विभिन्न भाषामा समेत कविता तथा गीति संग्रह प्रकाशित भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here