महामारीले गर्दा खाद्यान्न उद्योगहरू अवस्थामा पुग्यो

152

काठमाडौं । कोरोना महामारीको प्रभावका कारण खाद्यान्न उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् । महामारीको अवस्था भयावह बन्दै गएर त्रास बढेकाले उद्योगमा काम गर्ने श्रमिकहरू उद्योगमा आउन नसक्ने अवस्था सिर्जना भएसँगै उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आएको हो ।

दाल, चामल र तेललगायत खाद्यान्न उत्पादन गर्ने अधिकांश उद्योग विराटनगर, वीरगञ्ज, नेपालगञ्जलगायत शहरमा रहेका छन । ती स्थानमा कोरोना संक्रमणको दर धेरै रहेकाले उद्योग बन्द गर्नुपर्ने अवस्था आएको हो । नेपाल चामल तेल र दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताका अनुसार संक्रमण हुने त्रासका कारण उद्योगमा काम गर्ने श्रमिकहरू काममा आउन हिचकिचाइरहेको अवस्था छ । उनीहरूलाई उद्योगमा राखेर काम गराउन सक्ने अवस्था पनि छैन ।

यसले गर्दा अहिले करीब ७५ प्रतिशत खाद्यान्न उद्योग बन्द भइसकेका छन् भने बाँकी उद्योगहरू पनि बन्द हुने अवस्था आइसकेको उनले बताए । अहिले धेरै मानिसहरूले रोजगारी गुमाएका कारण उपभोक्ताको आम्दानी घट्न गई माग पनि घटेको उद्योगीहरूले बताएका छन् । संक्रमणको अवस्था यस्तै रहिरहे अबको १५ दिनभित्र सबै खाद्य उद्योगहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने गुप्ताले बताए ।

श्रमिकहरूमा त्रास बढेकै कारण एक सिफ्टमा मात्र उद्योगहरू चलिरहेको अवस्था छ । कतिपय श्रमिकहरू संक्रमित भएर काम गर्न आउन सकेका छैनन् भने कतिपय उद्योगीहरूका परिवारका सदस्यमा संक्रमण देखिएपछि उद्योगीहरू पनि उद्योगसम्म जान नसक्ने वातावरणको सृजना भइसकेको चन्द्रशिव राइस एन्ड आयल मिल विराटनगरका प्रोप्राइटर नरेश राठीले जानकारी दिए ।

सामान्य अवस्थामा नेपालमा सञ्चालित खाद्यान्न उद्योगहरूले वार्षिक कुल मागको करीब ६० प्रतिशत चामल, ६२ प्रतिशत दाल र ३५ प्रतिशत तेलको उत्पादन गर्ने गर्छन् ।

संक्रमणको त्रास एकातर्फ छ भने कच्चा पदार्थको महँगीले गर्दा अर्कातर्फ उद्योगहरूमा कच्चा पदार्थको अभाव पनि चुलिँदै गएको छ । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको छ । अहिले महामारीका कारण नगदमा कारोबार गर्न सक्ने अवस्था नभएकाले आवश्यक परेको कच्चा पदार्थ ल्याउन नसकिएको उद्योगीहरूको भनाइ छ । आर्थिक अभियान दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here